ad ad

समाज


बेपत्ता दम्पती नभेटिँदै प्रहरीले किन गरेको थियो अभियुक्त सार्वजनिक?

बेपत्ता दम्पती नभेटिँदै प्रहरीले किन गरेको थियो अभियुक्त सार्वजनिक?

उजिर कार्की
चैत १२, २०७७ बिहिबार १६:२७,

महोत्तरी पिपराका झा दम्पती बेपत्ता भएको ३१ दिनपछि बिहीबार प्रहरीले उनीहरूको शव फेला पारेको छ। गत फागुन ११ गते राति पिपरा गाउँपालिका–५ सहोडबास्थित घरको ओछ्यानबाटै बेपत्ता ६६ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवीको अन्ततः आज कंकाल भेटिएका हुन्।

यो पनि : बेपत्ता भएको एक महिनापछि गाडेको अवस्थामा भेटियो झा दम्पतीको शव

तर प्रहरीले ४ दिनअघि (आइतबार) नै ४ अभियुक्त सार्वजनिक गरेको थियो– सहोडबाकै ५२ वर्षीय रामबाबु यादव, २६ वर्षीय सुरेन्द्र यादव, २४ वर्षीय राजेन्द्र यादव र बिहार मधुवनी घर भई महोत्तरीको पिपरा वडा नम्बर ६, बनौली बस्ने हरेन्द्र ठाकुर। 

यो पनि :  जग्गा बेच्न नमान्दा अपहरण, एक भारतीयसहित चारजना पक्राउ

तर उनीहरूले अपराधमा आफूहरूको संलग्तना नरहेको दाबी गरेको प्रहरी नै बताउँछ। उसो भए किन उनीहरूलाई अभियुक्त भनेर सार्वजनिक गर्ने निर्णयमा प्रहरी पुग्यो?

प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंह भन्छन्, ‘उनीहरूले होइन भने पनि हामीसँग प्रशस्त प्रमाण थिए, पक्राउ गरिसकेपछि कि छाड्नुपर्थ्यो, नभए गुपचुप राख्न मिल्दैनथ्यो, प्रहरीले समाजलाई जवाफ दिन जरुरी थियो।’

दम्पती बेपत्ता भएलगतै जिल्ला प्रहरी कार्यालय (महोत्तरी),  प्रदेश नं २ प्रहरी कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसमेतबाट टोली खटिएको थियो। टोलीले दम्पती बेपत्तामा उनीहरूकै संलग्नता रहेको ठहर गर्न केही ‘क्लु’ पायो। पहिलो कुरा त पीडित पक्षले उनीहरूप्रति नै शंका गर्दै उजुरी दिएका थिए। आशंकाको कारणमा प्रहरी विश्वस्त भयो।

रामबाबु आपराधिक पृष्ठभूमिका व्यक्ति हुन्। जसको यसअघि पनि आपराधिक गतिविधिमा संलग्नता थियो। अनुसन्धान क्रममा प्रहरीले स्थानीयसँग पनि बयान लिएको थियो। उनीहरूको पनि आशंका यिनै व्यक्तिमा देखियो।

पोलिग्राफका क्रममा अभियुक्तले धेरै कुरा झुट बोलेको प्रमाणित भयो। झा दम्पतीको घरमा रगत भेटिएको थियो। अनि रामबाबुका छोराको घरमा पनि आलो रगत फेला परेको थियो।

प्लटिङको पछाडि झा दम्पतीको १४ कठ्ठा जग्गा छ भने अभियुक्तहरूको डेढ बिघा जग्गा बाटो पछाडि छ। झा दम्पतीको जमिन बाटोको मुखमा पर्छ। त्यसपछि अभियुक्तहरूले प्लटिङ गरेर हामी जग्गा बेच्छौं भाउ आएन, हामीलाई कि बाटो दिनुपर्‍याे कि जग्गा हामीलाई बेच्नुपर्‍याे भनेर झा दम्तपीसँग अनुरोध गरे। तर नमानेपछि उनीहरूले गाउँलेकै अगाडि धम्की दिएका थिए।

प्रहरीका लागि अर्को गतिलो प्रमाण बन्यो– अभियुक्तबीचको टेलिफोन संवाद। उनीहरूले इन्टरनेटमार्फत त्यो मध्यरात कुरा गरेका थिए। राति २ बजेसम्म उनीहरूको कुरा भएको पाइयो।

‘उनीहरूले सोधपुछका क्रममा इन्कार गरे पनि विश्वस्त हुन सक्ने प्रमाण भएकाले हामीले अभियुक्तका रूपमा सार्वजनिक गरेका हौं,’ डीआईजी सिंहले नेपालखबरसँग भने, ‘इन्कार गर्दैमा अपराध गरेको व्यक्तिले उन्मुक्ति पाउँदैन।’

झन्डै एक महिना हुन लाग्दा पनि बेपत्ता दम्पतीको अवस्था पत्ता नलाग्नु, अर्कातर्फ पक्राउ परेका व्यक्ति पनि सार्वजनिक नगर्दा प्रहरीप्रति प्रश्न उठ्ने डीआईजी सिंह बताउँछन्। प्रहरीले अभियुक्तहरूलाई घटना भएकै साता पक्राउ गरिसकेको थियो। तर घटनामा उनीहरूको संलग्नता रहे/नरहेको थाहा भइसकेको थिएन।

‘पक्राउ गरिएका व्यक्तिलाई राखिराख्दा हामीमाथि प्रश्न उठ्ने भयो, त्यसको जवाफ दिनकै लागि हामीले सार्वजनिक गरेका हौं,’ सिंहले भने।

प्रहरीले घटनाको अनुसन्धान र बेपत्ताको खोजी सँगसँगै गरिरहेको थियो। बेपत्ता दम्पती खोज्न कुकुरसहित १६ प्रहरीको टोली खटिएको थियो। टोलीले ४२ वटा पोखरी चहार्यो। घटनास्थलमा रगत फेला पर्नु र ओछ्यानैसहित बेपत्ता पारिएका कारण दम्पतीको हत्या नै गरिएको निष्कर्षमा प्रहरी पुग्यो। तर उनीहरू फेला नपर्दासम्म यसै हो भन्ने अवस्था भएन।

मारेर कुनै गह्रौं वस्तुमा बाँधेर पोखरीमा डुबाएको हुन सक्ने आशंका प्रहरीलाई थियो। झाकै घरनजिकका तीनवटा पोखरीमा पनि पूरै पानी सुकाएर खोजी गरियो। तर झा दम्पती भेटिएन।

यस्तै इँटाभट्टातिर पनि प्रहरीलाई शंका थियो। प्रहरीले ८ वटा इँटाभट्टामा पनि सर्च गर्‍याे। तर त्यहाँ पनि उनीहरू फेला परेनन्। त्यसपछि प्रहरीको अनुमान जमिनमुनि गाडिएको हुन सक्नेमा केन्द्रित भयो।

‘भर्खरै खनिएका जति ठाउँ हामीले खोज्न थाल्यौं, मरेका गाईगोरु पुरिएका ९ वटा ठाउँ खोतल्यौं, केही ठाउँमा कुकुर पनि गाडिएको फेला परे, तर शव फेला परेन,’ डीआईजी सिंह सुनाउँछन्, ‘बिहीबार भने हाम्रो निसाना सही साबित भयो र सडकमा पुरिएको अवस्थामा दुवै जनाको शव फेला पर्‍याे।’

यो पनि : झा दम्पती खोज्दै ४२ पोखरी र ८ वटा इटाभट्टा चहार्‍यो प्रहरी, सडकमुनि भेटियो शव

कंकाल भेटिएकै ठाउँमा झा दम्पतीको लुगाफाटोलगायत सामानमेत भेटिएका छन्। शव गाडिएको स्थानको सडक केही समयअघि मात्रै खनिएको थियो।

प्रहरीका अनुसार पिपरा बजारबाट अतरा जाने बाटोको डाइभर्सन भएको ठाउँमा शव भेटिएका हुन्। दुवै जनाको शव एकै ठाउँमा थिए।

यसअघि व्यक्ति बेपत्तामा अनुसन्धान गरिरहेको प्रहरीले अब ज्यानसम्बन्धी कसुरमा मुद्दा अगाडि बढाउने तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .