लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ । नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाइएको निकुञ्ज प्रशासनले जनाएको छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले सुरक्षितरूपले खोरमा राखिएको बाघ आफैँ निस्केपछि निकुञ्जअन्तर्गत पर्ने राजमार्ग र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन सूचित गरिएको जानकारी दिए। मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दालाई अत्यावश्यक कामबाहेक जङ्गलभित्र प्रवेश नगर्न शाहले आग्रह गरे।
निकुञ्ज कार्यालयले पूर्वपश्चिम राजमार्गको शिवखोलादेखि प्रगतिनगरसम्मको क्षेत्रमा रातको समयमा पैदल, साइकल र मोटरसाइकलबाट आवतजावत नगर्न निरन्तर सूचना जारी गरिरहेको छ।
बर्दियाको खाता जैविक मार्गबाट यही चैत ५ गते नियन्त्रणमा लिइएको बाघलाई डिभिजन वन कार्यालय बर्दियाले बाँके राष्ट्रिय निकुञ्ज समक्ष बुझाएको थियो।
बाँके निकुञ्जको खैरी पोष्ट क्षेत्रमा राखिएको खोरबाट मङ्गलबार बिहान ६ बजेतिर बाघ भागेको हो। बाघ भागेपछि निकुञ्जअन्तर्गत पर्ने पूर्वपश्चिम र रत्न राजमार्ग तथा मध्यवर्ती क्षेत्रमा उच्च सर्तकता अपनाइएको निकुञ्ज प्रशासनले जनाएको छ। रासस

प्रतिक्रिया