अमेरिका प्रवेश गर्ने चाहना बोकेका तर प्रवेशाज्ञा अनुमतिको कागजात नभएका हजारौं व्यक्ति मध्य अमेरिकी मुलुकहरुबाट आइरहेका समाचार बाहिरिएसँगै उनले अमेरिकी सीमा बन्द गरिएको जानकारी दिए।
मेक्सिको सिटीमा रहेको अमेरिकी राजदूताबासबाट सार्वजनिक गरिएको उनको एउटा अडियो सन्देशमा भनिएको छ, “सीमामा नआउनु होला। सीमा बन्द गरिएको छ ।”
ज्याकोब्सनले अवैधानिक ढङ्गबाट संयुक्तराज्य अमेरिका प्रवेश गर्न चाहने व्यक्तिहरु आपराधिक तत्वहरु र मानव तस्करबाट पीडित हुने जोखिम पनि रहने बताएका छन्।
राष्ट्रिय सुरक्षा परिषदमा दक्षिण अमेरिकी प्रमुख हुवाँ गोन्जालेज र ज्याकोब्सनले मेक्सिकोका विदेश मन्त्री मार्सेलो एब्रार्डसँग मेक्सिको सिटीमा वार्ता गरेपछि ज्याकोब्सनको अडियो सार्वजनिक गरिएको हो।
आर्थिक सङ्कट, अपराध र पर्यावरणीय विपदबाट जीवन कष्टप्रद भएको जनाउँदै मध्य अमेरिकी मुलुकहरुबाट ठूलो संख्यामा मानिसहरु अमेरिका प्रवेश गर्न मेक्सिकोको बाटो हुँदै उत्तरतर्फ बढेका छन्।
बालबच्चा सहित ठूलो संख्यामा मानिसहरु कैयौं दिनदेखि हिँडेरै अमेरिकी सीमामा पुग्न लागेको आप्रवासीका क्षेत्रमा कृयाशील सङ्घसंस्थाले जनाएका छन्।
ज्याकोब्सनले सन्देशमा मेक्सिकोको उत्तरी सीमा क्षेत्रमा यात्रा निकै कठिनाइपूर्ण रहेको बताउँदै मानव तस्करहरुले सीमापार गराइदिने प्रलोभनमा लुटपाट र शोषण गर्न सक्ने खतरा रहेको बताएका छन्।
यसबाहेक, विश्वभर नै कोरोना भाइरसको महामारी फैलिइरहेको अवस्थामा ठुल्ठूलो समूहमा हिँड्दा वा शिविरमा बस्दा कोरोनाभाइरसको सङ्क्रमण हुने खतरा अरु बढ्ने बताउँदै उनले आप्रवासी प्रक्रियाका बारेमा बढीभन्दा बढी जानकारी लिन र सुरक्षित रहन आग्रह गरेका हुन्।
अमेरिकी भन्सार तथा सीमा सुरक्षा प्रशासनले उपलब्ध गराएको तथ्याँकमा गत फेब्रुअरीको एक महिनामै अमेरिका प्रवेश गर्न खोज्ने करिब एक लाख व्यक्तिलाई सीमा क्षेत्रमा नियन्त्रण गर्नु परेको उल्लेख छ।
आप्रवासीको संख्या दिनहुँ बढ्दै गएका खबरहरु सार्वजनिक भएलगत्तै राष्ट्रपति जो बाइडेनले त्यस्ता आप्रवासीलाई आफ्नो देश नछाड्न आग्रह गर्नु गरेका थिए।
तर राष्ट्रपति बाइडेनको आग्रहलाई समेत बेवास्ता गर्दै ठूलो संख्यामा आप्रवासीहरु अमेरिकी सीमा क्षेत्रमा ओइरिन थालेपछि अमेरिका र मेक्सिकोबीच वार्ता हुन थालेको छ। रासस/एएफपी र एपी

प्रतिक्रिया