न्यु साउथ वेल्समा १८ हजार मानिस विस्थापित भएको र उनीहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा स्थान्तरण गरिएको बीबीसीले जनाएको छ।
बाढीले अतिप्रभावित भएका मानिसहरुलाई सरकारले आर्थिक सहायता प्रदान गर्ने त्यहाँका प्रधानमन्त्री स्कट मरिसनले घोषणा गरेका छन्।
अधिकारीहरुका अनुसार केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण सिड्नीवरपर र दक्षिणपूर्वी राज्य क्वीन्सल्यान्डमा नदी र तटबन्धहरूमा पानीको बहाव बढेको छ।
स्थानीय प्रशासनले ५० वर्षमा एक पटक हुने अवस्था यो साताभरि रहन सक्ने भन्दै नागरिकहरूलाई सचेत रहन आग्रह गरेका छन्।
त्यहाँको मौसम विभागका अनुसार अस्ट्रेलियका कुनैकुनै स्थानमा १,००० मिलिमिटरसम्म पानी परेको छ।
सोमबार बाढीका कारण १५० विद्यालय बन्द भए भने नदीहरू सन् १९६१ को विनाशकारी बाढीको समयभन्दा ठूलो भएको बताइएको छ।
सर्पको खतरा
अस्ट्रेलियामा भारी वर्षा भइरहँदा बाढीले सर्पहरु बगाएर मानिसको घरसम्म पुर्याएका छन्।
सर्पहरु घरमा विभिन्न स्थानमा देखेपछि मानिसहरु त्रसित बनेको बताइएको छ।
न्यु साउथ वेल्स, साउथ–इस्ट क्विन्सल्यान्डका मानिसहरुलाई सर्पबाट जोगिन त्यहाँका अधिकारीहरुले सचेत गराएका छन्।
मानिसहरुले सामाजिक संजालमा आफ्नो घरमा सर्प, माकुराजस्ता जीवहरु देखा परेको भन्दै फोटोहरु पोस्ट गरेका छन्।

प्रतिक्रिया