चिनियाँ नागरिकजस्ता देखिने मानिसहरुमा जातियताको आधारमा आक्रमणको घटना बढेको हालै एउटा प्रतिवेदन सार्वजनिक भएको थियो।
‘स्टप एएपीआई हेट रिपोर्टिङ सेन्टर’को प्रतिवेदनअनुसार गत वर्षको मार्च १९ देखि यसवर्षको फेब्रुअरी २८ सम्ममा ३ हजार ७९५ पटक एसियाली अमेरिकीमाथि कोरोनाको विषयमा दुर्व्यवहार भएको छ।
यो दुर्व्यवहार गाली गलौज तथा शारीरिक आक्रमणको तवरमा भएको प्रतिवेदनमा जनाइएको छ। प्रतिदेवन सार्वजनिक भएको केही समयमै फेरि अमेरिकामा एउटा अप्रिय घटना भएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार अमेरिकामा एक ३९ वर्षका पुरुषले ७६ वर्षकी चिनियाँ वृद्धामाथि मुक्का प्रहार गरेका छन्।
गत बुधबार मुक्का प्रहार हुँदा हाल ती वृद्धाको दुवै आँखामा गम्भीर चोट लागेको छ। सान फ्रान्सिस्कोको बाटोमा सडक पार गर्दैगर्दा उनीमाथि मुक्का प्रहार भएको थियो।
तर ती वृद्धाले आफ्नो ज्यान जोगाउन प्रतिकार गरिन् र उनले आफूसँग भएको लाठ्ठीले ती पुरुषमाथि प्रहार गरिन्।
सी सिआओसेन
अन्ततः ती पुरुष पनि घाइते भए। गम्भीर रुपमा घाइते भएका उनलाई अस्पताल नै लैजान परेको थियो।
ती वृद्धाको नाम सी सिआओसेन हो। उनी चीनको ग्वाङदोङकी हुन्। हाल उनी आफ्नो सन्तानसँग अमेरिकामा बस्दै आएकी छिन्।
प्रत्यक्षदर्शीका अनुसार ती पुरुषले ‘चाइनिज’ शब्द उच्चारण गर्दै वृद्धामाथि आक्रमण गरेका थिए। अन्तर्वार्तामा ती वृद्धाले रुँदै आफूले ज्यान जोगाउन प्रतिकार गरेको बताएकी थिइन्।
चिनियाँमाथि आक्रमणको घटना बढ्दै जाँदा यी वृद्धाले प्रतिकार गर्दा आक्रमणकारी पुरुष नै घाइते भएपछि यी वृद्धा महिलाको चर्चा विश्वभर चुलिएको छ।
चीनमा यी वृद्धालाई साहसी हजुरआमा भनेर सम्बोधन गर्न थालिएको छ।
अमेरिकी प्रहरीले कोरोना प्रकोपका बेलादेखि नै चिनियाँ तथा एसियालीमाथि हुने सम्भावित आक्रमण र हिंसालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाएका छन्।
यद्यपी आक्रमणको घटना दिनदिनै भइरहेको छ। हालै अमेरिकाको नयाँ सरकारले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण यस्तो जातिवादी हिंसा बढेको आरोप लगाएको थियो।
ट्रम्पले कोरोना भाइरसलाई बारम्बार ‘चाइनिज भाइरस, वुहान भाइरस’ भन्दै आएका थिए।
यो पनिः बेलायतमा चीनका प्राध्यापकलाई ‘चाइनिज भाइरस गेट आउट’ भन्दै कुटपिट गरियो
(भिडिओ)

प्रतिक्रिया