आगलागीका छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ। महोत्तरी र प्युठानमा भएको आगलागीमा परी दुई जनाले ज्यान गुमाएका राष्ट्रिय विपद न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार महोत्तरीको बर्दिबास नगरपालिका–७ प्रेमनगर बस्ने वर्ष ३५ की १ महिला घरको आँगनमा बालेको आगो ताप्ने क्रममा उनले लगाएको सारीबाट आगो सल्कीई शरीर जलेर घाइते भइ कीर्तिपुर अस्पताल काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ।
यता, प्युठानको स्वर्गद्वारी नगरपालिका–२ स्वर्गद्वारी आश्रमभित्र रहेको गोठमा अचानक आगलागी हुँदा आश्रममा काम गर्ने कामदारका छोरा वर्ष १५ का एक किशोरको मृत्यु भएको छ।
गएको २४ घण्टामा देशका विभिन्न स्थानमा गरी आगलागीका ११ घटना भएको प्राधिकरणले जनाएको छ। ती घटनामा लाखौंको धनमाल, पशुचौपाया जलेर नष्ट भएका छन्।
महोत्तरीसहित प्युठानका दुई स्थान, दाङ, चितवन, दैलेख, सप्तरी, रोल्पा, नवलपरासी पश्चिम, बर्दिया र सिरहामा आगलागी भएको छ।
प्राधिकरणका अनुसार यसवर्ष मात्रै देशभर आगलागीका १८ सय ७७ घटना भएका छन्। जसमा ७३ जनाको मृत्यु भएको छने ३२१ जना घाइते भएका छन्। ८९० पशु चौपाया मरेका तथा एक अर्ब ३७ करोड ८लाख ३७ हजार ८६ रुपैयाँ बराबरको क्षति भएको छ ।
यस वर्ष देशभर विपदका विभिन्न ३३ सय ८२ घटनामा ५५१ जनाले ज्यान गुमाएका छन् भने १०१ जना बेपत्ता तथा १०५७ जना घाइते भएका छन्।

प्रतिक्रिया