समाज


भागरथी हत्याका आरोपितको डीएनए परीक्षण गरिँदै

भागरथी हत्याका आरोपितको डीएनए परीक्षण गरिँदै

नेपालखबर
फागुन १६, २०७७ आइतबार १५:११,

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टको डीएनए परीक्षणका लागि पठाइएको छ।

डीएनए परीक्षणका लागि रगतलगायत आवश्यक पर्ने अन्य वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको हो। डीएनए परीक्षणबाट अनुसन्धानमा आवश्यक परेका थप कुराको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। परीक्षण रिपोर्ट केही दिनमै आउने भएको छ। यसअघि भागरथीको भजाइनल स्वाब पनि प्रयोगशाला पठाइएको भए पनि परीक्षण रिपोर्ट भने आएको छैन।

गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन्।

त्यसपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गत फागुन ५ गते प्रहरीले दिनेशलाई सार्वजनिक गरेको थियो।

आरोपितको तेस्रोपटक म्याद थप
भागरथीको हत्यामा संलग्न दिनेशमाथि अनुसन्धानका जिल्ला अदालतबाट तेस्रोपटक म्याद थप गरिएको छ। अनुसन्धानका लागि प्रहरीले तेस्रोपटक थप पाँच दिनको लागि अनुमति पाएको हो। यसअघि फागुन ५ गते पहिलोपटक र फागुन १० गते दोस्रोपटक म्याद थप गरिएको थियो। शुक्रबार तेस्रोपटक अनुमति पाएपछि थप अनुसन्धान काम भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

अनुसन्धानको फाइल केही दिनमै सरकारी वकिल कार्यालयमा बुझाउने तयारी रहेको छ।

उनले भने, ‘आवश्यक पर्ने सबै कुरा जुटाइरहेका छौँ, अनुसन्धानमै छौँ। अहिले नै सबै कुरा भन्न मिल्दैन।’

दिनेश नाबालक रहेकाले २१ दिनभित्र हिरासतमा राखेर अनुसन्धान सक्नुपर्ने हुन्छ। सोहीअनुसार अनुसन्धान कार्य जारी रहेको हो।

दिनेशले यसअघि प्रहरी, घरपरिवारसहित सरकारी वकिल कार्यालयमा लिइएको बयानमा आफूले नै भारगथीको बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए। जिल्ला अस्पतालमा गरिएको भागरथीको शव परीक्षण रिपोर्टमा पनि बलात्कारपछि हत्या भएको उल्लेख छ।

भागरथी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा कक्षा १२ र आरोपित दिनेश पनि सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए। दिनेश र भागरथी एउटै गाउँका हुन्। उनी दुवैबीच दिदीभाईको नाता पर्दछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad