म्याग्दीको बेनी नगरपालिका-४ फापरखेतमा बिहीबार राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य चारजना घाइते भएका छन्।
दुर्घटनामा मालिका-३ का ६२ वर्षीय गोविन्द रोकाको मृत्यु भएको हो। बेनी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए।
मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नम्बरको जिप सडकबाट म्याग्दी नदीमा खस्दा दुर्घटना भएको हो।
रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा लैजाँदै गरेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाइते चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा सिफारिस गरिएको छ।
घाइते मालिका–३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ । चालकबाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन्।
तातोपानी प्रहरी चौकी, तातोपानी र पखेरका स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए । दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए।

प्रतिक्रिया