प्रतिनिधि सभा पुनर्स्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।
स्रोतका अनुसार राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली बिहीबार साँझ शीतल निवास पुगेका हुन्।
त्यस क्रममा राष्ट्रपति र प्रधानमन्त्रीबीच झन्डै डेढ घण्टा कुराकानी भएको स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार उनीहरूबीच अब के कसरी संसद् बैठक सञ्चालन गर्ने भन्ने विषयमा छलफल भएको हो।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते संसद् विघटन गर्दै वैशाख १७ र २७ का लागि चुनाव घोषणा गरेकी थिइन्।
त्यसविरुद्ध परेको मुद्दामा सर्वाेच्च अदालतले यही फागुन ११ गते विघटन बदर गर्दै संसद् पुनर्स्थापनाको फैसला सुनाएको हो। साथै यसको १३ दिनभित्र संसद् बैठक बोलाउन पनि अदालतले आदेश दिएको छ।
त्यसयता प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भएको यो नै पहिलो भेटवार्ता हो।

प्रतिक्रिया