ललितपुर, सानेपास्थित सगरमाथा इन्जिनियरिङ कलेज तथा सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजीले ‘धुर्मुस-सुन्तली फाउण्डेसन’लाई रु २ लाख सहयोग गरेका छ।
फाउण्डेशनको आर्थिक एवंम प्राविधिक सहयोगमा चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई कलेजले सो रकम उपलब्ध गराएको हो।
कलेजमा अध्ययनरत बिई सिभिल इन्जिनियरिङ चौथो वर्ष दोस्रो खण्डका विद्यार्थीहरुले ‘कन्सट्रक्सन म्यानेजमेन्ट’ विषयको शैक्षिक भ्रमणका क्रममा विद्यार्थी तथा विषय शिक्षक सुबोध शर्मा गौतमसहित सिभिल इन्जिनियरिङ विभागका विभागीय प्रमुख भुवन घिमिरेले फाउण्डेसका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई रंगशाला निर्माणाधीनस्थलमा नै सो रकम प्रदान गरेका हुन्।
सो कलेज स्थापनाको एक दशकमा नै उल्लेख्य सफलता हासिल गरेको छ। साथै कलेज इन्जिनियरिङ विषयमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीका रोजाइमा परेको छ। विश्वस्तरीय इन्जिनियरिङ जनशक्ति स्वेदशभित्र नै उत्पादन गर्ने, इन्जिनियरिङ विधाका विविध विषयमा अध्ययन गर्ने एवं अनुसन्धान गर्ने ध्येयले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानद्वारा सम्बन्धन प्राप्त गरी विसं २०६७ देखि कलेज सञ्चालनमा आएको थियो।
शुरुआत वर्षदेखि स्नातक तहअन्तर्गत सिभिल र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनियरिङ कार्यक्रम र विसं २०७४ देखि सोही तहमा कम्प्युटर इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। स्थापना भएको एक दशक अवधिभित्रै कलेजले उल्लेख्य सफलता हासिल गरेको र इन्जिनियरिङ अध्ययनका लागि निजी क्षेत्रबाट सञ्चालित कलेजहरुमध्ये पहिलो नम्बरमा विद्यार्थीहरुको रोजाइमा परेको कलेजका प्रचार्य ई रमेश श्रेष्ठले जानकारी दिए।
उनका अनसार कलेजबाट हालसम्म करीब ६०० विद्यार्थीले अध्ययन पुरा गरेका छन्। विद्यार्थीले बेरोजगार बस्नु परेको छैन। उनीहरु सरकारी-गैरसरकारी निकायमा कार्यरत छन्। कोही विद्यार्थी उच्च शिक्षा हासिल गर्नका लागि स्वदेशी तथा विदेशी विश्वविद्यालयमा छात्रवृत्ति प्राप्त गरी अध्ययनरत छन्।
कलेजमा इलोक्ट्रोनिक्स एन्ड कम्युनिकेशन, सिभिल इन्जिनियरिङ, इन्जिनियरिङ साइन्स एन्ड ह्युम्यानिटिज तथा कम्प्युटर इन्जिनियरिङ लगायत विभागमा अनुभवी शिक्षक कार्यरत रहेका छन्।
विश्वविद्यालयद्वारा तोकिएको पाठ्यक्रमको परिधिभित्र मात्र सीमित नराखी विद्यार्थीहरुको व्यावसायिक क्षमता अभिवृद्धिका लागि आवश्यक सीपमूलक तालीम, विश्व विज्ञहरुसँग प्रत्यक्ष अन्तरक्रिया, विभिन्न कार्यशाला गोष्ठी तथा प्रतियोगितामा विद्यार्थीलाई सहभागिता गराउने ध्येयले कलेजले ‘सगरमाथा करियर सेन्टर’ स्थापना गरेको छ। सेन्टरले विद्यार्थीका रुचि र चाहनाअनुसार विभिन्न अतिरिक्त क्रियाकलापमा संलग्न गराउँदै आएको छ। रासस
Shares

प्रतिक्रिया