समाज


पर्सामा भारतीय बालुवा तस्करको आक्रमणबाट दुई सशस्त्र प्रहरी घाइते

पर्सामा भारतीय बालुवा तस्करको आक्रमणबाट दुई सशस्त्र प्रहरी घाइते

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार ७:१८,

पर्सामा भारतीय बालुवा तस्करको आक्रमणबाट दुई सशस्त्र प्रहरी घाइते भएका छन्।

शुक्रबार बिहान भारतीय बालुवा तस्करले नेपाली भूमिमा छिरेर बालुवा उत्खनन गर्न थालेपछि रोक्ने क्रममा दुई सशस्त्र प्रहरी घाइते भएका हुन्।

भारतसँग सीमा जोडिएको पर्साको जीराभवानी गाउँपालिका–१ पिपरडारीस्थित ओरीया खोलामा शुक्रबार बिहान भइरहेको बालुवा तस्करी रोक्ने क्रममा सशस्त्र प्रहरीका २४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय नरेश यादव घाइते भएको पर्साका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए। उनका अनुसार तस्करहरुले सशस्त्र प्रहरीकमाथि बेल्चा प्रहार गरेका थिए।

आयुषको कन्चटमा चोट लागेको छ भने नरेशको देब्रे हात भाँच्चिएको छ। उनीहरु दुवै जनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ।

‘यसअघि पनि यस ठाउँमा यसप्रकारका घटनाहरु हुँदै आएका थिए’, एसपी पाण्डेले नेपालखबरसँग भने, ‘शुक्रबार बिहान तस्करको आक्रमण सशस्त्र प्रहरी घाइते भएका छन्। उनीहरुको अवस्था खतरामुक्त छ।’

शुक्रबार बिहान सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट पिडारीगुठी र महादेवपट्टीबाट सशस्त्र प्रहरीको २२ जनाको टोलीले बालुवा उत्खनन् गर्दै गरेका तीन वटा ट्याक्टर नियन्त्रणमा लिएपछि भारतीयहरुको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको हो।

५०/६० जनाको समूहमा आएका भारतीयहरुको समूहले सशस्त्र प्रहरीमाथि लाठी, भाटा, बेल्चा तथा ढुंगाले हान्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो। उक्त समूहले नियन्त्रणमा लिएका ट्याक्टर पनि खोसेर लगेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad