ad ad

समाज


भागरथी हत्या प्रकरणः ९ दिनसम्म पनि घटना रहस्यमय, कहाँ पुग्यो अनुसन्धान?

भागरथी हत्या प्रकरणः ९ दिनसम्म पनि घटना रहस्यमय, कहाँ पुग्यो अनुसन्धान?

गोकुल जोशी
माघ २९, २०७७ बिहिबार १२:३२,

बैतडीको दोगडाकेदार गाउँपालिका–७, कतोलाकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको बिहीबार नौ दिन भएको छ।

माघ २१ गते बुधबार विद्यालय गएकी भट्ट सम्पर्कविहीन भएपछि खोजतलास गर्दा बिहीबार बेलुका घरनजिकै स्थानीय लबलेक सामुदायिक वनमा उनको शव भेटिएको थियो।

जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टम रिपोर्टले भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या भएको देखाएको थियो। घटनाको भएको नौ दिन पूरा भइसक्दा पनि प्रहरीले अपराधी पहिचान गर्न सकेको छैन।

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरीले एसएसपी जनकराज पाण्डेयको नेतृत्वमा सीआईबीका डीएसपीसहित चार सदस्यीय टोली बिहीबारै बैतडी खटाएको थियो। जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी नारायणप्रसाद अधिकारी र एसएसपी पाण्डेयको टोली अहिले पनि अनुसन्धानमा सक्रिय छ।

यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी आफैँ पनि अनुसन्धानमा सक्रिय छन्। डीआईजी सुवेदी पाँच दिनदेखि स्थानीय खोंचलेक प्रहरी चौकीमा बसेर अनुसन्धान टिमलाई निर्देशन तथा सहयोग गरिरहेको स्रोत बताउँछ।

अनुसन्धानमा उच्चस्तरीय टोली नै लागेको भए पनि अहिलेसम्म घटना रहस्यमय नै छ। घटना घटेको दिनदेखि अनुसन्धानमा खटिएको प्रहरी टोली आठ दिन बितिसक्दा पनि कुनै निष्कर्षमा पुग्न सकेको छैन। अपराधी पहिचान गर्नु त परको कुरा घटना दिउँसो भयो वा राति, सामूहिक बलात्कार हो वा होइन् भन्ने जवाफ दिन सक्ने अवस्थामा समेत प्रहरी छैन।

शव फेला परेको स्थानमै घटनाको भएको हो वा अन्यत्र घटना घटाएर शव त्यहाँ फालिएको हो? यसको जवाफ पनि प्रहरीसँग छैन।

कहाँ पुग्यो अनुसन्धान ?
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंह अनुसन्धानको दायरा साँधुरिँदै गएको बताउँछन्। घटनास्थलबाट संकलित प्रमाण तथा सोधपुछबाट प्राप्त तथ्यलाई केलाएर केही मानिसमाथि सूक्ष्म निगरानी बढाइएको उनले बताए।

‘फराकिलो दायराबाट सुरु भएको अनुसन्धान साँधुरिँदै गएको छ। तर, अहिले नै सार्वजनिक गरिहाल्ने ठोस् निष्कर्षमा पुग्न सकेका छैनौँ’, एसएसपी सिंहले नेपालखबरसँग भने, ‘केही व्यक्तिको भूमिका, गतिविधिमाथि सूक्ष्म निगरानी गरिरहेका छौँ।’

परीक्षणका लागि काठमाडौँ पठाइएका प्रमाणहरुको रिपोर्ट आउने क्रममा रहेकाले ती तथ्यमाथि विश्लेषण भइरहेको उनको भनाइ छ। ‘केही रिपोर्ट आएको छ। केहीको आएको छैन’, उनले भने, ‘सोधपुछ तथा मोबाइललगायत विभिन्न माध्यमबाट प्राप्त सूचनालाई विश्लेषण गर्दै सूक्ष्म निगरानीमा रहेकाहरुमाथि तथ्य रिलेट गरिरहेका छौँ। ठोस् निष्कर्षमा पुग्न तथ्य पुष्टि गर्ने प्रक्रिया जारी छ।’

घटनाबारे प्रहरीेले भागरथीका साथी, छरछिमेकी, आफन्तसँग पनि सोधपुछ गरेको छ। घटनास्थलनजिकै भेटिएको उनको मोबाइल तथा फेसबुकको सीआईबीको टिमले अनुसन्धान गरिरहेको छ। मोबाइल तथा फेसबुकमा भागरथीको नजिक सम्पर्कमा देखिएका व्यक्तिहरुमाथि निगरानी बढाएर सोधपुछ भइरहेको प्रहरी स्रोत बताउँछ।

‘मोबाइल र फेसबुकले ठूलो प्रमाणको रुपमा काम गरेको छ। मोबाइल, उनको फेसबुकबाट प्राप्त तथ्य भेरिफाइ गरिरहेका छौँ’, स्रोतले भन्यो, ‘यसबाट उनको नजिकमा देखिएकाहरुमाथि सोधपुछ भइरहेको छ।’

घटना भएको दिन लबलेक सामुदायिक वनको बाटो प्रयोग गरेका विद्यार्थी, गाडीचालक, गाडी धनी, स्थानीय सर्वसाधारण तथा अपराधिक भूमिकामा रहेका व्यक्तिहरुकोे खोजीकार्य र उनीहरुसँग सोधपुछ गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

साढे दुई वर्षअघि कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाबाट पाठ सिकेको प्रहरीले भागरथी प्रकरणमा संवेदनशील बनेको छ। घटनाको अनुसन्धानमा आवश्यक स्रोत–साधन प्रयोग भएकोे सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता सिंहले बताए।

‘हाम्रो सम्पूर्ण स्रोत–साधन प्रयोग गरेका छौँ। आवश्यकता अनुसार अनुसन्धानका लागि प्रहरी जनशक्ति पनि थप्दैछौँ’, उनले भने, ‘डीआईजी साव पनि त्यतै हुनुहुन्छ। सीआईबीको टोलीले प्रावधिक विषयमा जिल्लाको टोलीलाई सघाइरहेको छ।’

सम्बन्धित समाचार

निर्मलाको जस्तै भागरथीको पनि बलात्कारपछि घाँटी थिचेर हत्या

निर्मला हत्या सम्झाउने बैतडीको घटना, त्यो बाटै हिँड्न डराउँछन् महिला

युवती हत्या प्रकरणः एसएसपीको कमान्डमा अनुसन्धान टोली, मोबाइल विश्लेषण गर्दैै प्रहरी

भागरथीको लागि न्याय माग्दै ठाउँ-ठाउँमा प्रदर्शन

पढ्न गएकी युवती जंगलमा मृत भेटिइन्, बलात्कारपछि हत्या गरिएको आशंका

भागरथी हत्या अनुसन्धानः आपराधिक पृष्ठभूमि भएकादेखि भारत गएकासम्म निगरानीमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .