गृहमन्त्री रामबहादुर थापा बादलले मूल्यवृद्धिअनुरुप नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासनभत्ता तत्काल बढाइने बताएका छन्।
रासनभत्ताका पुनरवलोकन सम्बन्धमा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको नेतृत्वमा बनेको कार्यदलले तयार पारेको प्रतिवेदन आज गृह मन्त्रालयमा ग्रहण गर्दै गृहमन्त्री थापाले प्रतिवेदनको सिफारिसअनुसार तत्काल रासनभत्ता वृद्धिका लागि आफूले प्रक्रिया अगाडि बढाउने बताए।
उनले आर्थिक वृद्धि र समृद्धिका लागि शान्ति सुरक्षा अनिवार्य शर्त रहेको र त्यस्तो शान्तिसुरक्षा कायम गर्न महत्त्वपूर्ण योगदान गर्ने सुरक्षाकर्मीको मनोबल बढाउन पनि भत्ता वृद्धि गरिने बताए।
लामो समय भत्ता वृद्धि रोकिने अवस्थाको अन्त्य गरी प्रत्येक वर्ष स्वतः भत्ता पुनरवलोकन हुने गरी गृह मन्त्रालयले समिति बनाउने गृहमन्त्रीले प्रतिबद्धता व्यक्त गरे।
पछिल्लो ६ वर्षदेखि सुरक्षाकर्मीको रासनभत्ता वृद्धि हुनसकेको छैन। सहसचिव गौतम नेतृत्वको कार्यदलले पछिल्लो ६ वर्षमा खाद्यान्नमा सरदर ३३ प्रतिशत मूल्यवृद्धि भएको निष्कर्ष निकाल्दै मूल्यवृद्धि र सरकारको वित्तीय स्रोतको उपलब्धता हेरी उपयुक्त मात्रामा रासन भत्ता वृद्धि गर्न सिफारिस गरेको हो।
कार्यक्रममा गृहसचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकको समेत उपस्थिति रहेको थियो।
Shares

प्रतिक्रिया