अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई पक्राउ गर्यो। विमानस्थल अध्यागमनमा मानव तस्करको सेटिङ उत्कर्समा पुगेको चर्चा भइरहँदा अख्तियार विमानस्थल प्रवेश गरेको विषयले ठूलै चर्चा पाएको छ।
अध्यागमन अधिकृत पराजुलीले मानव तस्करसँग सेटिङ मिलाई नेपालीलाई भिजिट भिषामा पठाउनेसहितका कार्यमा गर्दै आएका थिए।
‘भिजिट भिषामा विदेश जाने नेपालीलाई बिचौलियासँग मिलेर अध्यागमन अनुमति दिने र त्यसको अभिलेख समेत नस्ट गर्ने कार्यमा संलग्नता देखिएपछि नियन्त्रणमा लिइएको हो’, अख्तियार प्रवक्ता प्रदीपकुमार कोइराला नेपालखबरसँग भन्छन्, ‘कानुनी प्रक्रिया छली गरी ठूलै आर्थिक चलखेल गरेको देखिन्छ। प्रारम्भिक अनुसन्धानले उजुरीमा लगाइएका आरोप पुष्टि भएका छन्।’
पछिल्लो समय विमानस्थल अध्यागमन सेटिङ प्रकरणका घटना बढ्दो छन्। सेटिङ मिलाउँदा कानुनी प्रक्रिया नपुगे पनि सहजै यात्रा अनुमति पाइने तर बिना सेटिङ यात्रामा निस्कने सर्वसाधारणलाई अध्यागमन अधिकारीले नियतबस दुःख दिने गरेको पीडितहरूको भनाइ छ।
गृहमन्त्रालयले वार्षिक प्रगति सार्वजनिक गर्न २०७६ साउन १३ गते आयोजना गरेको पत्रकार सम्मेलनमा समेत यो विषय उठेको थियो। गृहमन्त्री रामबहादुर थापाले विमानस्थलमा देखिएका विकृति हटाउन मन्त्रालय गम्भीर रहेको त्यतिबेला बताएका थिए। सञ्चारकर्मीले विमानस्थल सेटिङका कारण जोखिमपूर्ण मुलुकहरूमा नेपाली मारिने, अलपत्र पर्ने घटना बढेको विषय उठाएपछि उनले जवाफ दिएका थिए।
मन्त्रीले आश्वसन दिए पनि विमानस्थलस्थित अध्यागमनमा रहेको मानव तस्करको संगठित सेटिङ भत्किन सकेको थिएन। पराजुली विमानस्थलका सेटरमध्ये एक अधिकारी भएको अख्तियारको निष्कर्ष छ। सेटिङबाट आउनेलाई कानुनी प्रक्रिया नपुगे पनि उनले यात्रा अनुमति दिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
विदेश काम गर्न जान श्रम स्वीकृति अनिवार्य लिनुपर्ने हुन्छ। श्रम स्वीकृति लिने क्रममा स्वास्थ्य बीमासहितका प्रक्रिया पूरा गर्नुपर्छ। अध्यागमनमा हुने गैरकानुनी सेटिङकै कारण पछिल्लो समय लिबियासहित जोखिमयुक्त र सरकारले प्रतिबन्ध लगाएका मुलुकमा नेपालीहरु मारिने, अलपत्र पर्ने घटना बढेका छन्।
‘विदेश काम गर्न जान कानुनले श्रम स्वीकृति अनिवार्य गरेको छ तर आर्थिक चलखेल गरी कानुनी पूर्वाधार समेत नपुर्याई मान्छे उडाएको देखिएको छ’, प्रवक्ता कोइरालाले नेपालखबरसँग भने, ‘गैरकानुनी क्रियाकलापको जालो भए अनुसन्धानबाट खुल्नेछ। अहिले अनुसन्धान प्रारम्भिक चरणमै छ।’ विमानस्थलमा अध्यागमन अधिकारी र मानव तस्करबीच संगठित सेटिङ चल्दै आएको छ।
अध्यागमनमा अकुत आर्जन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घूस खाने अध्यागमन अधिकृत पक्राउ परेको यो पहिलो घटना भने होइन। यसअघि अख्तियारले विमानस्थल अध्यागमनमा रहेर अकुत सम्पत्ति कमाउने अधिकृत रमाकान्त अर्याललाई पक्राउ गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ। विमानस्थलमा कार्यरत रहँदा उनले २ करोड ६ लाख ८९ हजार रुपैयाँ अवैध आर्जन गरेको अख्तियार अनुसन्धानले देखाएको थियो। अख्तियारले दायर गरेको मुद्दा विशेषमा विचाराधीन छ।

प्रतिक्रिया