ad ad

समाज


मनाङमा डडेलोको प्रकोप, बस्ती जोगाउँनै हम्मेहम्मे

मनाङमा डडेलोको प्रकोप, बस्ती जोगाउँनै हम्मेहम्मे

नेपालखबर
माघ १५, २०७७ बिहिबार ५:५,

मनाङ नासो गाउँपालिकाको थोचेमा मंगलबार रातिदेखि लागेको डडेलो अझै नियन्त्रणमा आएको छैन। आगो निभाउन नसक्दा स्थानीय बस्तीहरु जोखिममा परेका छन्।

डडेलोले बृहत् रूप लिन थालेपछि बुधबार बिहानैदेखि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली आगो निभाउन खटिएको छ। मानव बस्ती भएको वडा नम्बर ६ र ७ को तिल्चे नजिक आगो पुग्न लागेको छ भने वडा नम्बर ५ थोँचे खतरामुक्त रहेको छ।

आगो मानव बस्ती नजिकै आइपुगेकाले निभाउने प्रयास सुरु गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए। डडेलो कसरी फैलियो खुलेको छैन। प्रहरी, सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासी मिलेर अग्नि रेखा तयार पारी बस्ती जोगाउने प्रयास जारी रहेको प्रजिअ लामिछानेको भनाई छ।

हिमाली जिल्ला भए पनि यसपालि हिउँ तथा पानी नपरेकाले सुकेको निगालोको झाडीमा डडेलो फैलिएको हो। धेरै ठूला रुख नजले पनि साना बुट्यान तथा झाडी डडेलोले सखाप भएको छ। अहिलेसम्म एउटा डाँडो पूरै जलिसकेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए।

‘भिरालो भौगोलिक बनावटका कारण आगो निभाउन कठिन भएको छ, आगोको लप्का र ढुङ्गा तातेर फुटेर खस्नाले जोखिम बढेको छ,’ उनले भने, ‘जोखिम मोलेरै भए पनि १०० जनाको टोली आगो निभाउन खटिइरहेको छ। हामी बस्ती जोगाउने प्रयासमा छौँ, बस्तीभन्दा १०० मिटर टाढासम्म डडेलो आइपुगेको छ।’

नयाँ दाउराघाँसको आशले स्थानीयवासीले आगो लगाएको हुनसक्ने आशङ्का गरिएको छ।

त्यसैगरी अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले प्रतिशोधको हिसाब अथवा व्यक्तिगत फाइदाका लागि आगो लगाइएको हुनसक्ने बताए। ताचैभन्दा माथिको लेकमा लागेको आगो भौगोलिक विकटताले गर्दा निभाउन गाह्रो परेको सुरक्षाकर्मीले बताएका छन्। ‘अहिले पनि हामी आगोसँग आगो जुधाएर निभाउने प्रयास गर्दै छौँ। सदरमुकाम चामे नजिकै तलेखुमा लागेको आगो भने निभाइएको छ,’ गौतमले भने।

यसैबीच थोचे, तिल्चे र ताचैको वनमा आगो दन्कन थालेपछि स्थानीयवासी त्रसित भएका छन्। आगलागीले महत्वपूणै जडीबुटी नष्ट हुनुको साथै जङ्गली जनावरको बास उठेको छ। अग्ला पहाडमा रहेको जङ्गलको आगोबाट मानव बस्तीलाई जोगाउनुबाहेक निभाउन कठिन हुने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

मङ्सिर ११ गतेदेखि लागेको आगो पूर्णरूपमा निभाउन नपाउँदै फेरि आगो लाग्नुले मनाङका जङ्गल जलेर सकिने हो कि भन्नेमा पीर परेको वडाध्यक्ष छिरङ घ्ल्पो पुनेलले बताए। किन र कसले आगो लगाएको हो भन्नेबारे दोषी पत्ता लगाई हदैसम्मको कारवाही गर्न स्थानीयवासीले माग गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .