समाज


देशकै लामो झोलुंगे पुलको नामकरण गर्नेलाई रु २५ हजार

देशकै लामो झोलुंगे पुलको नामकरण गर्नेलाई रु २५ हजार

नेपालखबर
माघ ४, २०७७ आइतबार ९:३६,

बागलुङ नगरपालिका–१ बांगेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने देशकै लामो (५६७ मि) झोलुंगे पुलको नामकरणका लागि सम्भाव्य नाम पठाउन सार्वजनिक आह्वान गरिएको छ।

कालिगण्डकी नदीमाथि बनेको उक्त झोलुंगे पुलको शनिबार उद्घाटनका क्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उत्कृष्ट नाम दिने सर्जक-व्यक्तिलाई पुरस्कारस्वरुप रु २५ हजार प्रदान गरिने घोषणा गरे।

‘प्रक्रिया शुरु भइसक्यो, नाम आह्वानसहितको सार्वजनिक सूचना नगरपालिकाको वेभसाइटमा पनि रहन्छ, प्राप्त नाममध्येबाट छनोट समितिले उत्कृष्ट ठहरिएकालाई पुरस्कृत गर्छौं’, उनले भने।

विश्वभर रहेका नेपालीले इमेललगायतका माध्यमबाट नाम पठाउन सकिने नगरपालिकाले जनाएको छ।

विश्वकै लामो भनेर दाबी गरिएको उक्त झोलुंगे पुललाई राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउने गरी नामकरण गर्न लागिएको हो।

‘संस्कृति, इतिहास, कालिगण्डकी नदीको सभ्यता नाममा झल्कोस्, जनबोलीमा पनि सजिलै स्थापित हुने खालको होस् भन्ने हाम्रो अपेक्षा छ’, उनले भने।

नामकरण गर्दा त्यसको भाव र सौन्दर्य पक्षलाई पनि मूल्यांकनमा मापन गरिने नगरपालिकाले जनाएको छ। ५६७ मिटर लामो र १३८ मिटर अग्लो उक्त झोलुंगे पुलको विसं २०७५ चैत ९ गते शिलान्यास गरी निर्माण थालिएको थियो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभाग, सस्पेन्सन ब्रिज डिभिजन कार्यालयमार्फत रु १२ करोड २२ लाखको लागतमा पुल निर्माण गरिएको हो।

निर्माण कम्पनीले सम्झौता अवधिभन्दा तीन महिनाअगावै पुल सम्पन्न गरेको भए पनि कोभिड–१९ का कारण उद्घाटन पछाडि धकेलिएको थियो। सर्वसाधारणको आवतजावतका लागि भने गत साउनदेखि नै पुल खुला गरिएको थियो।

उद्घाटन समारोहमै मन्त्रालयका सचिव एकनारायण अर्यालले नगरप्रमुख पौडेललाई पुल हस्तान्तरणको प्रमाणपत्र प्रदान गरेका थिए। पुललाई विश्वकै लामो झोलुंगे पुलका रुपमा गिनिज बुक अफ वल्ड रेकर्डमा दर्ता गर्न नगरपालिकाले प्रक्रिया अघि बढाएको जनाइएको छ।

‘झोलुंगे पुलको जिल्ला’ भनेर चिनिने बागलुङमा लामो पुलले अर्को चिनारी थपेको छ। देशकै लामो पुल तर्न र अवलोकनका लागि जिल्ला भित्रने आन्तरिक पर्यटकको संख्या बढ्दो छ।

पुलको आसपासमा सौन्दर्यीकरणको योजना अघि बढाइने नगरपालिकाले जनाएको छ। पुलको शनिबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad