समाज


अरब सागरमा बनेको मौसमी प्रणालीको प्रभाव हट्यो, तर तराईमा अझै केही दिन घाम नलाग्ने सम्भावना

अरब सागरमा बनेको मौसमी प्रणालीको प्रभाव हट्यो, तर तराईमा अझै केही दिन घाम नलाग्ने सम्भावना

नेपालखबर
माघ ३, २०७७ शनिबार १:२२,

दक्षिण-पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव शुक्रबार रातिदेखि नेपालबाट हटेको मौसमविद्ले बताएका छन्।

तर बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव यथावत् रहेका कारण तराई क्षेत्रमा अझै केही दिन घाम लाग्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

दिनभर आकाशमा बादल लाग्ने गरेकाले केही दिनयता देशैभर चिसो बढेको छ।

‘अबर सागरको प्रणालीको प्रभाव हट्दैमा मौसममा त्यति ठूलो फरक त आउँदैन,’ मौसमविद् नगरकोटीले शनिबार बिहान नेपालखबरसँग भनिन्, ‘किनकि स्थानीय वायुका कारण पनि मौसम बदली त भइरहन्छ। तर पनि अब सुदूरपश्चिमका तराई क्षेत्रमा बादल लाग्ने क्रम घट्न सक्छ।’

उनका अनुसार अहिले विशेषगरी तराई क्षेत्रमा घाम लाग्न सकेको छैन। अहिले बिहान पनि त्यहाँ बाक्लो हुस्सु/कुहिरो लागेको छ।

‘पहाडी भेगमा पनि कुनै-कुनै ठाउँमा घाम लागेको छैन, तर तराईमा जत्तिकै घामै नलाग्ने अवस्था छैन,’ उनले भनिन्, ‘काठमाडौंमा हिजो घाम लागेको थियो भने आज पनि लाग्ने सम्भावना छ।’

माैसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६  बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
जारी गर्दै भनेकाे छ : देशको विभिन्न भूभागमा  तापक्रममा हल्का गिरावट आउनाका साथै तराईका धेरै भूभागमा बिहानको समयमा बाक्लो हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

महाशाखाका अनुसार आगामी ३ दिनको मौसम पूर्वानुमान यस्ताे छ :

माघ ३ गते (शनिबार)
दिउँसो :  प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश २, बागमती र गण्डकी  प्रदेशमा आंशिक बदली रहनेछ र बाँकी प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ। प्रदेश नं १ का  एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भूभाग साथै सुदूरपश्चिम प्रदेशका तराइका भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

माघ ४ गते (आइतबार)

दिउँसो : प्रदेश नं १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका भूभागमा साथै सुदूरपश्चिम प्रदेशका तराइका भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ।

राती : देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

माघ ५ गते (सोमबार)

दिउँसो : देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश नं १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली साथै अन्य प्रदेशका पहाडी भूभागमा आंशिक रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का  पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad