विश्वभरि हालसम्म उत्पादित खोपको ९५ प्रतिशत मात्रा प्रमुख १० देशमा सीमित रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को युरोपेली शाखाले जनाएको छ।
खोपको कूल मात्रामध्ये अमेरिका, चीन, बेलायत, इजरायल, संयुक्त अरब इमिरेट्स, इटली, रूस, जर्मनी, स्पेन र क्यानडाले ९५ प्रतिशत खोपमा आफ्नो पहुँच जमाउँदै आएको डब्ल्यूएचओका युरोप क्षेत्रीय निर्देशक हान्स क्लुगले बताए।
अनलाइनमार्फत् गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘सामूहिक रूपमा हामी कुनै पनि देश वा समुदायलाई पछाडि छोड्न सक्दैनौँ। डब्ल्यूएचओले सबै मुलुकमा खोप पठाउनका लागि काम गरिरहेको छ तर यसको लागि प्रत्येक मुलुकले योगदान पु¥याउन, अनुदान दिन र सहयोग पु¥याउन र खोपहरूको उचित पहुँच र प्रयोग आवश्यक छ।’
‘आवर वल्र्ड इन डाटा’ नामक वेबसाइटका अनुसार अहिलेसम्म विश्वभर कूल तीन करोड २० लाख कोभिड–१९ विरूद्धका खोप प्रयोगमा आइसकेका छन् । रूस र केही मध्य एशियाली मुलुकसहित डब्ल्यूएचओको युरोपेली क्षेत्रका ५३ देशहरूमध्ये मात्रै ३१ मुलुकमा खोप अभियान सञ्चालन गरेको पनि ‘आवर वल्र्ड इन डाटा’ले जानकारी गराएको छ।
खोप अभियानको थालनी भए पनि केही देशहरूमा खोप अभियानले खासै गति लिएको छैन । नयाँ खालका सङ्क्रामणका विरामीहरूका कारण विशेष गरी अंग्रेजी र दक्षिण अफ्रिकी समूह राष्ट्रहरूका कारण चिन्ताजनक बनेको छ।
युरोपेली क्षेत्रमा रसियालगायत २५ देशहरूमा बेलायतमा पहिलो पटक फेला परेका नयाँ प्रकारको कोभिड–१९ का विरामी भेटिएको उनले बताए।
‘अहिलेसम्म नयाँ रोगमा कुनै खास परिवर्तन आएको देखिएको छैन । त्यसैले अबका दिनमा पनि कोभिड–१९ कम गम्भीर समस्या हुने छैन,’ उनले भने, ‘हामी एकै साथ दुई कारणका लागि चिन्तित छौं पहिलो विश्वमा अझैपनि देखिएको यस प्रकारको उच्च प्रसारण दर र दोस्रो यसको खोपको अर्थ।’ यद्यपि क्लुगले पनि आशावादी हुने आधारहरू बाँकी रहेको बताए।
सन् २०२१ कोरोनाभाइरसको अर्को बर्ष हुनेछ तर यो नियनत्रणका लागि अधिक पूर्वानुमान गर्न सकिने वर्ष हुनेछ । आगामी दिनमा योजनावद्धरूपमा विश्व समुदाय प्रतिवद्ध बनेमा नियन्त्रण गर्न सजिलो हुने उनले बताए।

प्रतिक्रिया