कैलालीको टीकापुर नगरपालिकाका पूर्वनगर प्रमुख रत्नप्रसाद सञ्ज्यालको निधन भएको छ। मधुमेह तथा उच्च रक्तचापबाट पीडित ७३ वर्षीय सञ्ज्यालको बिएण्डबी अस्पताल ललितपुरमा उपचारका क्रममा बुधबार राति निधन भएको हो।
उनी विसं २०५४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा (एमाले) बाट नगर प्रमुखमा निर्वाचित भएका थिए। उनको जन्म विसं २००४ मा कालीकोटको रास्कोट नगरपालिका वडा नं ४ मा भएको थियो। टीकापुर नगरपालिका २०५३ सालमा स्थापना भएको हो।
नगर प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरले महत्वपूर्ण अभिभावक गुमाएको बताए।
‘पूर्वनगर प्रमुखको निधनले यहाँको सामाजिक र राजनीतिक क्षेत्रमा ठूलो असर पुगेको छ’, उनले भने, ‘उहाँ कुशल व्यवस्थापक, कुशल राजनीतिज्ञ र शिक्षाप्रेमी हुनुहुन्थ्यो, टीकापुरलाई उहाँको अभाव सधैँ खड्किरहने छ।’
टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर माविमा एक दशक प्रधानाध्यापक रहेका सञ्ज्यालले शिक्षा र खेलकूदका क्षेत्रमा ठूलो योगदान पु¥याएका शिक्षक काशीराम ढुङ्गानाले बताए।
‘उहाँ कुशल प्रशासक, प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो’, ढुंगानाले भने, ‘उहाँले देखाएको बाटो सधैँ सम्झनामा रहनेछ।’
सञ्ज्यालको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
उनको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिएका थिए। रासस

प्रतिक्रिया