समाज


आयोगले एक वर्षमा पनि तयार गर्न सकेन दिलीप हत्या घटनाको प्रतिवेदन

आयोगले एक वर्षमा पनि तयार गर्न सकेन दिलीप हत्या घटनाको प्रतिवेदन

नेपालखबर
पुस २५, २०७७ शनिबार ९:५१,

अवैध नदी दोहनविरुद्ध अभियानमा लागेका धनुषाका २४ वर्षीय युवक दिलीप महतोको हत्याको एक वर्ष बितेको छ। तर, उनको हत्या घटनाको अनुसन्धान गरिरहेको राष्ट्रिय मानव अधिकार आयोग अझै पनि प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन।

पुस २५ गते बिहान धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका दिलीपको क्रसर सञ्चालकको निर्देशनमा टिपरले किचेर हत्या गरिएको थियो।

दिलीप हत्याको दुई दिनपश्चात २७ पुस २०७६ मा राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गर्दै आयोगको प्रदेश २ कार्यालयले घटनाको छानविन सुरु गरेको आयोगको जानकारी गराएको थियो। तर, घटनाको एकवर्ष बित्दा पनि आयोगको अनुसन्धन अधुरै रहेको छ।

घटनाको अहिलेसम्म विभिन्न कोणबाट अनुसन्धान जारी नै रहेकाले त्यस विषयमा आयोगको प्रतिवेदन तयार नभएको आयोगको प्रदेश २ कार्यायका प्रमुख वीरबहादुर मगर बताउँछन्।

‘आयोगले घटनानको बेलादेखि विभिन्न कोणबाट अनुगमन र अनुसन्धान गरिरहेका छौं। अझै समय लाग्न सक्छ। अहिले रिपोर्ट पूर्ण रुपमा तयार भएको छैन’, प्रमुख मगरले नेपालखबरसँग भने, ‘पूर्ण अनुसन्धानपश्चात हामीले रिपोर्ट सार्वजनिक गर्छौँ।’

दिलीप हत्या घटनामा संलग्न अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइसकेको तथा शंकाको घेरामा रहेका भनिएकाहरुको ठोस प्रमाण अझै नभेटिएकाले अनुसन्धान जारी नै रहेको आयोगले जनाएको छ।

दिलीप हत्या घटनाको अनुसन्धान आयोगको प्रादेशिक कार्यालय जनकपुरका मानवअधिकार अधकृति गणेश जोशीको नेतृत्वमा भइरहेको थियो। तर, दुई महिनाअघि उनी सरुवा भइसकेका छन्। जोसीको ठाउँमा ज्योती प्रसाद घिमिरे आएका छन्। तर, उनले पनि अन्य कामहरुमा व्यस्त भएकाले दिलीप हत्या अनुसन्धन घटनाको फाइल पनि अध्ययन गर्न नसकेको आयोगकै एक कर्मचारीले बताए। कोरोना महामारीलाई लक्षित गरी भएको लकडाउनको कारणले पनि अनुसन्धान कार्यलाई प्रभावित गरेको आयोगले जनाएको छ।

हत्या अभियोगमा पक्राउ परेका ३ जना २०७६ माघ ३० गतेको जिल्ला अदालत धनुषाको आदेशमा पुर्पक्षका लागि थुनामा छन् भने ३ जना धरौटी बुझाएर साधारण तारेखमा रिहा भएका छन्।

क्रसर संचालक विपीन महतो, टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो हाल पूर्वपक्षका लागि जेलमा छन् भने दिलीपसँगै खोलामा गएका छिमेक साथी रोशनकुमार यादव, सत्यनारायण महतो र शत्रुधन महतो जनही २५ हजार धरौटी रकम बुझाएर साधारण तारेखमा रिहा भएका छन्। यस्तै घटना पश्चात फरार रहेका क्रसर संचालक विपीनका दाइ विनोद महतो अदालतमा हाजिर भएर रिहा भइसकेको बुझिएको छ।

तर, घटनाकाको निष्पक्ष छानविन नभएकाले हत्यामा संलग्न प्रहरी र केही जनप्रतिनिधि उम्केको परिवारको दावी छ। बिना मुचल्का शव उठाउने तत्कालीन इलाका प्रहरी कार्यालय ढल्केबरका इन्सपेक्टर रामकुमार यादव र मिथिला नगरपालिका ५ का वडाध्यक्ष श्याम यादव अझै शंकाको घेरामा रहेको स्थनीयको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad