नेपाली सेनाले रौतहट जिल्लाको राजपुर नगरपालिका–९ बैरिया स्वास्थ्य चौकीमा १ दिने निःशुल्क जनरल तथा डेन्टल स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले श्री नं.२८ बाहिनी अड्डा र श्री नं.२८ फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा नेपाल औषधि उत्पादक संघ, सामाजिक विकास मन्त्रालय नं.२ प्रदेश, सैनिक अस्पताल पोखराको सहयोग एवं इन्द्रबक्स गणको संयोजकत्वमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
कोभिड–१९ का कारण स्वास्थ्य सेवाबाट बञ्चित र दुर्गम स्थानमा रहेका बिरामीहरुलाई निःशुल्क औषधि वितरण तथा स्वास्थ्य सेवा उपलब्ध गराइएको सेनाले जनाएको छ।
स्वास्थ्य शिविरबाट महिला –११०, पुरुष –१०१ र बालबालिका ३२ जना गरि जम्मा २४३ जना (ओपीडी २२८ तथा डेन्टल १५) सर्वसाधारणहरु लाभान्वित भएका छन्।
सेना र आम नागरिक बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन यस किसिमको स्वास्थ्य उपचार सेवाले महत्वपूर्ण भूमिका खेल्ने नेपाली सेनाले विश्वास लिएको छ।

प्रतिक्रिया