ad ad

समाज


पढ्न भन्दै नेपाल आएका विदेशी धर्म प्रचारमा भेटिए, ३४२ जना देश निकाला

पढ्न भन्दै नेपाल आएका विदेशी धर्म प्रचारमा भेटिए, ३४२ जना देश निकाला

उजिर कार्की
पुस २०, २०७७ सोमबार १५:४,

बेल्जियमकी भेन वाल्टर एम डिकेसटेकर र एभेलिन लुसाइन क्लेस अध्ययन भिसामा नेपाल आएका थिए। पढ्न नेपाल आएका उनीहरुको भिसाको म्याद सन् २०२१ मे २५ सम्म थियो।

तर, धर्म प्रचारमा लागेको भन्दै भिसाको बाँकी म्याद रद्द गरेर अध्यागमन विभागले उनीहरु देश निकाला गर्ने निर्णय गरेको छ। अध्यागमनले अब ५ वर्षसम्म उनीहरुलाई नेपाल आउनै नदिने निर्णय गरेको छ।

उनीहरुले दुई वर्षदेखि पाँचथरका विभिन्न गाउँमा इसाई धर्म प्रचार गरिरहेको सूचना गृह मन्त्रालयमा आएको थियो। मन्त्रालयले गत मंसिर १५ गते अध्यागमन विभागलाई सत्य तथ्य बुझ्न निर्देशन दियो।

अध्यागमन विभागले उनीहरुलाई झिकाएर सोधपुछ गर्‍यो। त्यसक्रममा भेन वाल्टरले धर्म प्रचार नगरेको दाबी गरे। उनले श्रीमती एभेलिन लुसाइन समाज शास्त्रको विद्यार्थी भएकाले आफूहरु अभ्यासका लागि गाउँ गएको बताए।

त्यसपछि जिल्ला प्रशासन कार्यालय पाँचथरलाई यसबारे बुझ्न भनियो। स्थानीयसँग सोधपुछ गर्दा पनि उनीहरुले धर्म प्रचार नै गरिरहेको पाइएको प्रशासनले अध्यागमनमा जानकारी गरायो। यो दम्पती २०७५ जेठदेखि स्थानीय कुमार श्रेष्ठको घरमा बस्दै आएको थियो।

स्थानीयका अनुसार त्यहाँ बसेर श्रीमतीले अनलाइन कक्षा सञ्चालन गर्थिन् भने श्रीमान् पास्टरका रुपमा धर्म प्रचार गर्थे। अध्यागमनले उनीहरु पढ्न भनेर भर्ना भएको पाटन संयुक्त क्याम्पसमा मंसिर २३ गते हाजिरीसहितको जवाफ माग गरेको छ। तर क्याम्पसबाट जवाफ आइनसकेको अध्यागमनले जनाएको छ।

अध्यागमन विभागले पनि उनीहरुको गतिविधि छानबिनका लागि सूचना समन्वय तथा विश्लेषण शाखालाई निर्देशन दियो। गत पुस ३ गते अनुमति पाएको उक्त शाखाले उनीहरुले पाँचथरका विभिन्न स्थानमा दलित तथा जनजाति समुदायका किशोर किशोरीलाई क्रिश्चियन धर्म मान्न लगाउने गरेको निस्कर्षसहितको प्रतिवेदन पेस गरेको छ।

सोही प्रतिवेदनका आधारमा उनीहरुलाई ५ वर्षसम्म नेपाल आउन नपाउने गरी देश निकाला गर्ने सरकारले निर्णय गरेको छ। विदेशी नागरिकले जुन उदेश्यका लागि भिसा प्राप्त गरेको हो, सोही उदेश्य अनुसार गतिविधि नगरेमा कारबाही हुन्छ। अध्यागमन विभागले भिसाको बाँकी अवधि समेत रद्द गरी देश निकाला गर्न सक्ने अध्यागमन नियमावली, २०५१ मा व्यवस्था छ। सोही व्यवस्थाअनुसार यो दम्पतीलाई देशनिकाला गरिएको हो।

युक्रेनका नागरिक एन्टोनिना दोमासेन्को पनि २०१४ देखि नेपालमै थिइन्। पर्यटन र अध्ययन भिसा लगाएर उनी नेपाल बसिरहेकी थिइन्। गत मंसिर १९ गते पुनः अध्ययन भिसा नवीकरणका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सिफारिस लिएर अध्यागमन विभाग पुगिन्।

तर, उनी लामो समयदेखि नेपालमा किन बसिरहेकी छन् भनेर अध्यागमन विभागले अनुसन्धान थाल्यो। सन् २०१४ मा पहिलो पटक नेपाल आएकी उनी पटक पटक भिसा नवीकरण गर्दै नेपालमा बसिरहेको देखियो। उनले अमेरिका, युरोप तथा अन्य मुलुकबाट अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा पास्टरबाट पठाएको रकमबाट धर्म प्रचार, चर्च निर्माण, क्रिश्चियन विद्यालय सञ्चालन गरिरहेको अनुसन्धानका क्रममा खुल्यो।

उनले ललितपुरको भैंसेपाटीमा डाइनामिक सामुदायिक विद्यालय चलाइरहेको भेटिएको अध्यागमन विभागले जनाएको छ। उक्त विद्यालयका विद्यार्थी र शिक्षक नै क्रिश्चियन धर्म प्रचारप्रसारमा लागेको पाइएको अध्यागमनको प्रतिवेदनमा उल्लेख छ। यस्तै सामाजिक सञ्जालको माध्यामबाट समेत उनीहरुले आर्थिक संकलन गरिरहेको समेत भेटियो।

अध्यागमनले उनीमाथि बयान लिन सुरु गर्‍यो। बयानका क्रममा ती युक्रेनी महिलाले भने नेपाल मन परेकाले श्रीमान् र बच्चासहित नेपाल आएको बताइन्। धर्म प्रचार नगरेको दाबी गर्नै अध्यागमनलाई बयान दिइन्।

अध्यागमनले उनको नियतमाथि प्रश्न गर्‍यो र उनलाई पनि देश निकाला गर्ने निर्णय दियो। उनी पनि ५ वर्ष नेपाल आउन नपाउने गरी देश निकाला भएकी छन्।

नेपालमा एउटा प्रयोजनका लागि भनेर आउने र अर्कै धन्दा चलाउने विदेशीको संख्या ठूलो छ। अध्यागमन विभागले सन् २०२० मा मात्रै ३ सय ४२ जना विदेशीलाई देशनिकाला गरिसकेको छ।

उनीहरुको गल्ती अनुसारको सजाय गरेर देश निकाला गरिएको अध्यागमन विभागका सूचना अधिकारी तथा निर्देशक टेकनारायण पौडेलले बताए।

नेपालबाट निष्कासन गरिएकामा सबैभन्दा धेरै चिनियाँ नागरिक छन्। यो वर्ष चीनका २ सय ३४ जनालाई निकाला गरिएको छ। यस्तै बंगलादेशका १७, भियतनाम र इरानका ७/७ जनालाई निष्कासन गरिएको छ। भुटानका ६, अमेरिका र यमनका ५/५ गिनी र पाकिस्तानका ३/३, रसिया, श्रीलंका, लेबनान र सोमालियाका २/२ जना नागरिक नेपालबाट निकालिएका छन्। बाँकी देशका एक एक जना रहेको अध्यागमन विभागको तथ्यांक छ।

यसरी देश निकाला गरिएकाहरु अध्यागमन कानुन विपरीत कार्यसँगै विभिन्न अपराधमा समेत संलग्न रहेको पाइएको छ।

‘भिसाको म्याद नाघेका, अध्यागमन कानुन उल्लंघन गरेका, धर्म प्रचार गर्दै बसेका, ठगी, जाली राहदानी, राजश्व ठगी, मानव बेचविखन लगायतका मुद्दामा संलग्नलाई देश निकाला गरिएको छ’, अध्यागमन विभागका निर्देशक पौडेलले भने।

कोरोना संक्रमणको समयमा भिसाको म्याद सकिए पनि कारबाही नहुने भएपछि सहज रुपमा बसेका विदेशी नागरिकमाथि अध्यागमन र विमान सेवा सुरु भएसँगै पुनः निगरानी बढाइएको छ।

लामो समय बसेका विदेशी नागरिक यस्तो संक्रमणको समयमा समेत आफ्नो देश नफर्किएपछि उनीहरुको गतिविधिमाथि निगरानी बढाइएको गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .