ad ad

समाज


अदालतको शौचालयमै लुगा फेरेर भागे विप्लवका नेता, जिल्लियो प्रहरी 

अदालतको शौचालयमै लुगा फेरेर भागे विप्लवका नेता, जिल्लियो प्रहरी 

उजिर कार्की
पुस ७, २०७७ मंगलबार १३:४८,

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का आर्थिक विभाग प्रमुख प्रेमबहादुर दर्नाललाई खोज्न प्रहरी एक सातादेखि सक्रिय छ।

मंसिर २८ मा जिल्ला अदालत ललितपुरको शौचालयबाट प्रहरीलाई जिल्याएर दर्नाल भाग्न सफल भएपछि ठूलो संख्यामा प्रहरी उनको पछि लागेका छन्।

जिल्ला अदालत ललितपुरबाट रिहा गर्न आदेश दिएपछि दर्नाललाई भक्तपुर लगेर मुद्दा चलाउने प्रहरीको तयारी थियो। तर प्रहरीको उक्त योजनालाई फेल खुवाउँदै दर्नाल अदालतको शौचालयमा भाइसँग लुुगा साटेर भागेका थिए।

‘अनुहार र जिउडाल पनि मिल्ने भएकाले प्रहरी झुक्किएको देखिएको छ, अहिलेसम्म हेर्दा नियत नराम्रो त देखिँदैन तर प्रहरीको पनि कमजोरी भने पक्कै छ,’ महानगरीय प्रहरी कार्यालय श्रोतले भन्यो, ‘अहिले त्यहाँ संलग्नमाथि छानबिन भइरहेको छ, दोषी पाइए प्रहरीलाई पनि कारबाही हुन्छ।’

त्यहाँ खटिएका ललितपुर, अपराध महाशाखा र भक्तपुरका प्रहरीमाथि महानगरीय प्रहरी कार्यालयले आवश्यक कारबाही थालेको छ। सादा पोसाकका घुमुवा प्रहरीको टोली समेत सोही कारण परिवर्तन गरिएको छ।

यस्तै प्रहरीले अदालतका प्रहरीको समेत मिलेमतो रहेको जनाएको छ।

‘कर्मचारीले समेत भगाउन सहयोग गरेको देखिन्छ,’ मेट्रो स्रोत भन्छ, ‘ढिलो चाँडो भागेका व्यक्ति पक्राउ पर्छन्।’

त्यो दिन प्रहरीले पनि थाहा पाएनन्। मक्ख परेर प्रेमबहादुर भन्दै अर्कै व्यक्तिलाई हतकडी लगाएर भ्यानमा चढाए। तर जब जिल्ला अदालत भक्तपुरमा उपस्थित गराएका व्यक्तिले म प्रेमबहादुर नै होइन भन्न थाले, प्रहरी चकित परे।

प्रहरीले प्रेमबहादुर भनेर पक्राउ गरेका व्यक्ति उनका भाइ प्रमेश दर्नाल थिए। प्रहरीले प्रेमबहादुर ठान्दै उनैलाई भक्तपुरमा पुुर्‍याएर हिरासतमा राख्यो। भोलिपल्ट म्याद थपका लागि लगिएका प्रमेशले आफू प्रेमबहादुर नभएको बताएपछि उनी तत्काल छुटे भने प्रहरी आश्चर्यमा पर्दै प्रेमबहादुरको खोजीमा लागेको हो।

मंसिर ५ गते प्रहरीको विशेष ब्युरोले ललितपुरको बागडोलबाट दर्नाल र अर्थ विभागकै अर्का नेता सञ्जीव नेपालीलाई पक्राउ गरेको थियो। नेपाली भने अहिले पनि हिरासतमै छन्। ललितपुरबाट छुटेका उनलाई भक्तपुर लगेर अनुसन्धान अगाडि बढाइएको छ। उनीहरुविरुद्ध प्रहरीले चन्दा ऐन अन्तर्गत मुद्दा चलाएको थियो। तर पक्राउ परेका विप्लवका कार्यकर्ताले नै आफूहरुलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

सोही मुद्दाको सुनुवाई गर्दै सर्वोच्च अदालतले ललितपुर अदालतका श्रेस्तेदारको रोहवरमा छाड्न आदेश दिएको थियो।

प्रहरीले श्रेस्तेदारको रोहबरमा छाड्न अदालत पुुर्‍याएको थियो। उनका भाइ पनि अदालतमै आएका थिए। प्रहरी भने उनलाई फेरि पक्राउ गर्न अदालतको बाहिर बसेका थिए। तर नेपालीसँगै उनका भाइ दाइको भेषमा निस्किएपछि प्रहरी झुक्किएको हो।

विप्लव नेतालाई कारबाही गर्ने दाउमा रहेका प्रहरी आफैं कारबाहीको दायरामा तानिएका हुन्। फरार भएका विप्लव नेता दर्नालको खोजी भइरहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी हरि पालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .