ad ad

कारोबार


वित्तीय पहुँचको अभाव नै नेपालमा डिजिटल उद्यमशीलताको मुख्य समस्या

वित्तीय पहुँचको अभाव नै नेपालमा डिजिटल उद्यमशीलताको मुख्य समस्या

नेपालखबर
पुस ७, २०७७ मंगलबार १३:४२,

नेपालमा स्टार्टअप पर्याप्त सम्भावना रहेकोले यसको प्रवद्र्धनका लागि आवश्यक पूँजी, ज्ञान र सञ्जालको पहुँच हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्।

एसियाली विकास बैंक (एडीबी) र नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार संयुक्त रुपमा आयोजना गरेको ‘नेपालमा डिजिटल उद्यमशीलताको प्रारम्भिक चरण’ विषयक भर्चुअल कार्यक्रममा सहभागीले यसका लागि उपयुक्त वातावरण बनाउनुपर्ने बताएका हुन्।

मोबाइल सेवामा उच्च पहुँच, घट्दो डेटा शूल्क र युवाहरुको पर्याप्त संख्या रहेकोले नेपालमा डिजिटलमा आधारित सेवा विस्तारको लागि महत्वपूर्ण आधार समेत रहेको बताइएको छ। प्रविधिमा आधारित साना तथा मझौला उद्योगहरुको उच्च वृद्धिको प्रारम्भिक अनुभवले पनि नेपालमा यसको भविष्य विस्तार हुने सम्भावना उच्च देखाइएको हो।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले उद्यमशीलता विकासमा देखिएका वास्तविक समस्याहरुको पहिचान गरेर त्यसको समाधानमा सरकारले गम्भिर भएर लाग्ने बताए। उद्यमशीलता विकासका लागि आर्थिक र नीतिगत सहयोग मात्र नभएर त्यसलाई प्रवद्र्धन गर्न सरकारले हौसला पनि दिनुपर्ने उनले बताए। आयोगले १५ औं पञ्चबर्षीय योजनामार्फत नै उद्यमशील नागरिकको परिकल्पना गरेको र त्यसका लागि सहजीकरण गरिदिने उल्लेख गरेको उनले बताए।

नेपालका लागि एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले नेपालमा प्रविधिमा आधारित स्टार्टअप अवसर भएपनि आर्थिक र कानुनी चुनौतिलाई समाधान गरेर अनुकुल वातावरण बनाउन आवश्यक रहेको बताए।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले उद्यमशीलता विकासका लागि अहिले नै नियमन भन्दा पनि लगानीकर्ता र सञ्चालकलाई नै सम्झौतामा खुला छोडिदिएको बताए।

उद्यमशीलताका लागि आवश्यक पूँजी जुटाउन साना तथा मझौला व्यवसायीलाई पनि बजारमा प्रवेश गराउने विषयमा छलफल भइरहेको उनको भनाइ थियो। नेपालमा उद्यमशीलताका लागि विदेशी पूँजी ल्याउने विषयमा केही छलफल भएपनि उद्योग विभाग र राष्ट्र बैंकको प्रक्रिया पुरा गर्नुपर्ने चुनौति रहेको उनको भनाई छ।

वित्तीय पहुँचको अभाव नै नेपालको उद्यशमीलताका लागि सबैभन्दा ठूलो अवरोध रहेको यूजीबजारकी प्रमुख कार्यकारी अधिकृत निकिता आचार्यले बताइन्।

सफल पार्टनर्सका प्रबन्ध निर्देशक आसुतोश तिवारीले उद्यमशीलताको लागि समग्र इकोसिष्टम निर्माणमै काम गर्नुपर्ने अवस्था रहेको बताए। विपे्रषणको रकमलाई उद्यमशीलतामा प्रयोग गर्ने गरी नीगित व्यवस्था भए त्यसले धेरै सहयोग पुग्ने उनको भनाई थियो। विजनेस अक्सिजनकी लगानी प्रबन्धक रितु प्रधान मल्लले पूँजी जुटाउने सन्दर्भमा प्रक्रियागत कठिनाईले निकै समस्या पारेको बताइन्।

डिजिटल उद्यमशीलताको लागि विशेषत निजी क्षेत्रको नेतृत्वमा साना तथा मझौला उद्योगहरुको प्रवद्र्धनमा सहयोगी हुने किसिमका कानुनी व्यवस्थाहरु गर्न सहभागी अनुरो गरे।

परम्परागत रुपमा सञ्चालित साना तथा मझौला व्यवसायलाई प्रविधिमा आधारित बनाउने र नयाँ स्टार्टअपमा लगानी भित्र्याउन सक्ने आधारमा कार्यक्रम केन्द्रित थियो।

१५ हजार डलरदेखि दुई लाख ५० हजार डलरसम्मको लगानी आवश्यक पर्ने किसिमका डिजिटल प्रविधि उपयोग हुने व्यवसायको समग्र व्यापारचक्र सिर्जना गर्ने सम्बन्धमा पनि छलफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .