अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाउने भएका छन्।
बाइडेनले खोप लगाएको दृश्य टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने अधिकारीहरूले जानकारी दिएका छन्।
मोडर्नाले उत्पादन गरेको खोप अमेरिका ल्याएकै दिन बाइडेनले लगाउन लागेका हुन्। अमेरिका ल्याइएको यो दोस्रो खोप हो।
अमेरिकामा यसअघि फाइजरको खोप लगाउन थालिएको थियो । कोरोनाभाइरसबाट मानवीय क्षति र प्रभावितको दृष्टिले अमेरिका सबैभन्दा अगाडि छ।
विश्वभरी महामारीको रूपमा फैलिएको कोरोभाइरसबाट अमेरिकामा तीन लाख १७ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
‘मैले अरुले भन्दा अगाडि लगाउनु पर्ने चाहना राखेको त होइन, तर लगाएको देखाएर सबै अमेरिकीलाई यो खोप सुरक्षित छ र लगाउनु पर्छ भन्ने सन्देश दिनका लागि मात्रै लगाउन खोजेको हो,’ बाइडेनले भने।
अमेरिकामा उच्च सरकारी अधिकारीहरूलाई कोरोनाभाइरस विरुद्धको खोप दिने अभियान अघिल्लो सातादेखि चलाइएको हो । यो अभियानलाई अमेरिकी इतिहासमै सबैभन्दा ठूलो मानिएको छ।
उपराष्ट्रपति माइक पेन्स, सभामखु नान्सी पेलोसी, सिनेटमा बहुमत भएको दलका नेता मिच म्याककोनेल लगायतले गत शुक्रबारै यो खोप लगाएका छन्।
उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिस र उहाँका श्रीमान्ले भने अर्को साता पहिलो पटक खोप लगाउने अनुमान छ।
विशिष्ट धेरै व्यक्तिहरूले खोप लगाए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिलेसम्म कोरोनाविरुद्धको खोप लगाएका छैनन्। कोरोना भाइरसबाट सङ्क्रमित भई निको भइसकेका अरु धेरैले लगाए पनि ट्रम्पले भने अहिलेसम्म नलगाएका हुन्। सरकारी अधिकारी तथा चिकित्सकहरूले भने उनले पनि खोप लगाउनु पर्नेमा जोड दिँदै आएका छन्।।
खोप र मास्कका बारेमा गलत व्याख्या गर्दै आएका राष्ट्रपति ट्रम्पले अघिल्लो महिना नै आफूले खोप नलगाउने बताएका थिए। तर उनले अहिले पनि यसबारेमा चिकित्सकहरूसँग परामर्श गरिरहेका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता ब्रियन मोर्गेनस्टर्नले राष्ट्रपति ट्रम्पले उपयक्त समयमा खोप लिने र त्यो समय आउन सक्ने जवाफ दिएका छन्। एजेन्सी

प्रतिक्रिया