समाज


विप्लवका नेता अनिल शर्मा अदालत परिसरबाटै पक्राउ

विप्लवका नेता अनिल शर्मा अदालत परिसरबाटै पक्राउ

नेपालखबर
मंसिर २४, २०७७ बुधबार ३:३९,

स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता छविलाल सापकोटा (अनिल शर्मा ‘विरही’) साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन्।

नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको आगजनी घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका विरहीलाई मंगलबार नुवाकोट जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलले साधारण तारिखमा रिहा गर्न आदेश दिएलगत्तै पुनः प्रहरीले पक्राउ गरेको हो। पक्राउपछि उनलाई काभ्रे लगिएको छ।

 मंसिर १८ गते ललितपुरबाट पक्राउ गरेर नुवाकोट ल्याइएका शर्माले स्काभेक्टर आगजनीमा संलग्नताको ‘भरपर्दो प्रमाण नभएको’ भन्दै अदालतले साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो।

चितवनको रत्ननगरका शर्मालाई गत वैशाख २३ मा प्रहरीले उपचारका क्रममा अस्पतालबाटै पक्राउ गरेको थियो। भदौ २३ गतेसम्म पुर्पक्षका लागि थुनामा रहेको समयमा भदौ ७ मा मदानपुरमा स्काभेक्टर आगजनीमा संलग्नता रहेको दाबी विश्वासिलो नभएको आधारमा शर्मालाई साधारण तारिखमा छाड्ने आदेश भएको थियो।

साधारण तारिखमा छुटेलगत्तै अदालत परिसरबाटै पक्राउ परेका शर्मालाई गए राति नै काभ्रे पठाइएको नुवाकोट प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए। शर्मालाई काभ्रेमा सङ्गठित अपराध, एनसेल टावरमा आगजनीलगायतको अभियोग छ।

गत वैशाख २३ मा चितवनबाट पक्राउ परेका शर्मा भदौ २३ मा त्यहाँबाट छुटेलगत्तै पक्राउ गरेर धनुषा, सुनसरी, भोजपुर, सङ्खुवासभा, मोरङ, काठमाडौँ, ललितपुर हुँदै नवौँ जिल्लाको रूपमा नुवाकोट ल्याइएको थियो।

आफूलाई लगाइएको अभियोग कहीँ पनि पुष्टि गर्ने आधार नभएकाले राजनीतिक पूर्वाग्रहीका रूपमा राज्यले झुटा मुद्दा लगाई फसाउन खोजेको उनको प्रतिक्रिया छ।

नेत्रविक्रम चन्दको समूह पछिल्लो समयमा हिंसात्मक र ध्वंशात्मक गतिविधिमा संलग्न हुन थालेसँगै राज्य संयन्त्रबाट विभिन्न बहानामा धरकपड, पक्राउसहित राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad