दार्चुलामा आइतबार राति ट्रक दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ।
दार्चुला जिल्ला प्रहरी कार्यालयका अनुसार गोकुलेश्वरबाट दार्चुलाको सदरमुकाम खलंगातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा दुर्घटना भएको हो।
दुर्घटनामा बैतडीको दोगेडाकेदार गाउँपालिका–५ न्वालीका ट्रकचालक २४ वर्षीय शेर सिंह कार्कीसहित ३ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता पुष्कर सिंह ऐरीले जानकारी दिए। प्रहरी निरीक्षक ऐरीका अनुसार अन्य दुई जनाको सनाखत भने हुन बाँकी छ।
‘खाली ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो, ट्रक सडकबाट झण्डै सय मिटर तल खसेको छ,’ प्रहरी निरीक्षक ऐरीले भने, ‘दुर्घटनाको कारण खुल्न सकेको छैन।’
यसअघि शनिबार राति मात्र डोटीमा जिप दुर्घटना हुँदा एकै घरका ३ सदस्यसहित ४ जनाको मृत्यु भएको थियो।
यो पनि:
सुदूरपश्चिमका पहाडी जिल्लामा डेढ दशकदेखि ट्राफिक दरबन्दी बढेन, सडक सुरक्षाको जिम्मा ५५ जनालाई !

प्रतिक्रिया