समाज


बालिका हत्या प्रकरण : बर्दिबासको अवस्था सामान्य बन्दै

बालिका हत्या प्रकरण : बर्दिबासको अवस्था सामान्य बन्दै

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार ३:१७,

स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि महोत्तरीको बर्दिबासमा तनाव क्रमशः सामान्य हुँदै भएको छ।

बर्दिबासकी ६ वर्षीया बालिकाको अपहरणपछि भएको हत्याको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएपछि बर्दिबासको अवस्था असामान्य भएको थियो। बुधबार साँझ स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि अवस्था क्रमशः सामान्य बन्दै गएको हो।

नागरिकस्तरमा गठित वार्ता समिति र प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालबीच पीडितलाई क्षतिपूर्ति दिने, दुवै घटनाको छानविन गरी दोषीलाई कारवाही गर्ने, प्रहरीको गोली लागेर मृत्यु भएका बुद्धिराज न्यौपाने (सञ्जय) लाई शहीद घोषणा गर्ने र प्रदर्शनमा घाइते भएकालाई उचित उपचार खर्चको व्यवस्था गर्ने विषयमा गृहमन्त्रालयलाई आग्रह गर्ने सहमति भएको थियो।

चारबुँदे सहमतिको नागरिकस्तरमा गठित वार्ता समितिका संयोजक चिरञ्जीवी हमाल र जिल्लाका प्रमुख जिल्ला अधिकारी कटुवालले पुष्टि गरेका छन्।

दुवै पक्षबीच प्रदर्शनका कार्यक्रम रोक्ने र भएका सहमतिको कार्यान्वयनका लागि गृहमन्त्रालयमा पहलकदमी बढाउने समझदारीसमेत भएको छ।

यद्यपि जिल्लाका अन्य भेगमा प्रदर्शन रोकिए पनि बर्दिबास नगरपालिका क्षेत्रमा भने छिटफुट ठाउँमा अझै टायर बाल्ने र सवारी साधन रोक्ने काम भइरहेको गुनासो यात्रुले गरेका छन्। सहमतिपछि सडक अवरोध गर्नेसँग समितिको सम्बद्धता नरहेको संयोजक हमालले बताए।

गत आइतबार अपहरणपछि हत्या गरिएकी बर्दिबास-१४ की ६ वर्षीया बालिका गुलाव शाह (गुलवशा) खातुनका हत्यारालाई हँदैसम्मको कारवाही र न्यौपानेलाई शहीद घोषणा गर्दै क्षतिपूर्ति र घाइतेको उपचार खर्चको माग गर्दै बुधबार बर्दिबासका अतिरिक्त जिल्ला सदरमुकाम जलेश्वर, सम्सी, सीतापुर, गौशालासहितका ठाउँमा प्रदर्शन भएका थिए।

बर्दिबासमा जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा तोड्दै प्रदर्शनकारीले बुधबार दिनभर प्रदर्शन गरेका थिए।

गत आइतबार अपहरणमा परेर हत्या गरिएकी बालिकाको शव प्रहरीले सोमबार मध्यरातमा उनको घर नजिकै बोरामा खाँदिएको अवस्थामा बरामद गरेको थियो।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले गौशाला नगरपालिका–५ का २६ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरी अनुसन्धान थालिसकेको छ। बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने अड्कल गरिएको छ। यद्यपि यो पक्ष अस्पतालको परीक्षण रिपोर्टले स्पष्ट पार्ने जिल्लाका प्रहरी अधिकारीको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad