समाज


जालमा परेर ९ गोही मरे

जालमा परेर ९ गोही मरे

नेपालखबर
साउन १४, २०७६ मंगलबार ७:१६,

गत आर्थिक वर्षमा नारायणी र राप्ती नदीमा तिहारी जालमा परेर नौ वटा घडीयाल गोही मरेका छन्। सङ्कटापन्न अवस्थामा रहेको गोही जालमा परेर मरेपछि संरक्षणमा थप चुनौती देखिएको छ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार नौ वटा गोही तिहारी जालमा परेर मरेका थिए। जालमा परेका १२ वटा गोहीलाई उद्धार गरिएको थियो।

सात वटा राप्तीमा र दुई वटा नारायणी नदीमा जालमा परेर मरेका हुन्। जसमध्ये एउटा ठूलो हो भने अन्य साना हुन्।

अघिल्लो आर्थिक वर्षमा तिहारी जालमा परेर एउटा मात्र भाले गोही मरेको थियो। निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार अघिल्लो आर्थिक वर्षको जेठ महीनामा नारायणी नदीमा जालमा परेर एउटा भाले गोही मरेको थियो।

सो आर्थिक वर्षमा त्यही एउटा गोही मरेको भए पनि गत वर्ष धेरै गोही जालमा परेर मरेको हो।

लुकिछिपी माछा मार्न जाल हान्नेले भलिबलको नेट जत्रो तिहारीजाल नदीमा माछा मार्न प्रयोग गर्ने गर्छन्। माछा र साना गोहीलाई तिनै मानिसले तानेर मार्ने वा छोड्ने गर्दछन् भने ठूला गोहीले जाल तानेर लैजाने गर्दछ।

त्यही जालमा गोही बेरिने, मुखमा अड्किने गरेर खान नपाई गोही मर्ने गरेको खड्काको भनाइ छ। मानव सृष्टिभन्दा पहिले पृथ्वीमा आएको गोहीको पहिलो आहारा माछा भए पनि पहिलो आहारा दूध हो।

१०० हाराहारी निकुञ्ज आश्रित जनतालाई हाते जाल प्रयोग गर्न लाइसेन्स दिएको छ। लुकिछिपी माछा मार्न तिहारी जाल हान्नेका कारण गोही मर्ने गरेका हुन्। हाल दुई नदीमा गरी तीन वटा मात्र भाले गोही छन्। अघिल्लो वर्ष एउटा भाले गोही मरेपछि बर्दियाबाट ल्याइएको थियो।

प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीमा हालसम्म एक हजार ४६५ वटा गोही छाडी सकिएको छ। जसमध्ये राप्तीमा मात्र ७८५ गोही छाडिएको छ। निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छोडिसकिएको छ।

नदीमा गोही छोड्दै गए पनि सङ्ख्या बढ्न भने सकेको छैन। पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही छन्। सन् १९७८ मा प्रजनन् केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो।

नदी प्रदूषण बन्दै जाँदा सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष यी दुई नदी किनारबाट गोहीको अण्डा सङ्कलन गरी प्रजनन् केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ । हाल प्रजनन् केन्द्रमा साना बच्चाबाहेक ४६७ वटा गोही रहेका छन् । रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad