काठमाडौँ महानगरपालिका–१ मा रहेको ऐतिहासिक कमलपोखरीको जिर्णोद्वार तथा मर्मत सुरु भएको छ। स्थानीय तहको नेतृत्वमा कमलपोखरी स्पोर्टस क्लबलगायतका संस्थाको समन्वयमा मर्मत तथा संरक्षणको काम सुरु भएको हो।
काठमाडौं महानगरपालिका–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठले कमलपोखरी मर्मतको काम भइरहेको जानकारी दिए। गत असार मसान्तभित्र पोखरीको जीर्णोद्वार सक्नुपर्ने थियो। तर, कोभिड–१९ को महामारीको प्रभावका कारण समय सीमाभित्र काम नसकिएको श्रेष्ठले बताए।
विभिन्न क्लबले केही वर्षदेखि पोखरीमा माछापालन गरी आन्तरिक पर्यटकलाई आकर्षित गर्दै आएका छन्। माछा बिक्री गरी आउने रकमलाई स्थानीय क्लवहरुले आम्दानीको स्रोत बनाएका छन्।
स्थानीय विकास तथा सामाजिक कार्य सञ्चालन गर्दै आएका क्लबले स्थानीय तहमा विभिन्न खेलकूदको विकासमा पनि काम गर्दै आएका छन्। लकडाउनको अवधिमा आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई विभिन्न खाद्य सामग्रीसमेत सहयोग गरेको कमलपोखरी स्पोर्टस् क्लबका अध्यक्ष भीमसेन मैनालीले जानकारी दिए।
पोखरीको आसपासमा बनेका ठूला भवन तथा कार्यालयले त्यसको सौन्दर्यमा कमी आएको छ। पोखरीको नाममा करीब ४० रोपनी क्षेत्रफल जग्गा भए पनि विभिन्न समयमा अतिक्रमण भई अहिले १८ रोपनीमा पोखरी सीमित भएको छ।
स्थानीय समाजसेवी अरुणसिंह केसीका अनुसार केही वर्ष अगाडि वरवपरबाट बगेर आएको ढल पोखरीमा सङ्कलन भई वरपर दुुर्गन्ध फैलिएपछि स्थानीयवासी र क्लबको समन्वयमा सरसफाइ गरी केही व्यवस्थित बनाइएको बताए। क्लबले हालै करीब दुुई लाख रुपैयाँ बराबरको माछा बिक्री गरेको थियो। रासस

प्रतिक्रिया