समाज


दसैंमा जुवा खेल्दा ३ हजार हारेपछि आमालाई भावुक पत्र लेखेर १६ वर्षीय किशोर बेपत्ता (पत्रसहित)

दसैंमा जुवा खेल्दा ३ हजार हारेपछि आमालाई भावुक पत्र लेखेर १६ वर्षीय किशोर बेपत्ता (पत्रसहित)

नेपालखबर
कात्तिक १६, २०७७ आइतबार ३:४९,

दसैंमा जुवा खेल्दा तीन हजार रुपैयाँ हारेपछि दैलेखको नारायण नगरपालिका–८ किमुगाउँका १६ वर्षीय किशोर आमालाई भावुक पत्र लेखेर बेपत्ता भएका छन्।

स्थानीय वसन्त माविमा कक्षा ९ मा अध्ययनरत १६ वर्षीय गोविन्द विक दसैं मान्ने रकम जुवामा हारेपछि आमालाई पत्र लेखेर ९ कात्तिकदेखि बेपत्ता भएका हुन्। प्रहरीले उनको खोजी सुरु गरे पनि फेला पार्न सकेको छैन।

लकडाउनको कारण गएको चैतदेखि विद्यालय बन्द भएपछि गोविन्द सदरमुकाम दैलेखमा दाजु बखतसँगै घर निर्माणको काम गर्थे। दाजुले दसैंमा मासु किन्न दिएको तीन हजार लिएर घर गएका गोविन्द जुवामा सबै रकम हारेपछि बेपत्ता भएका हुन्।

गोविन्दले तीन हजार रुपैयाँ साथीहरुसँग तासबाट खेलिने ‘काट’ भन्ने खेल खेल्दा हारेका उनका साथीहरुले बताएका छन्।

तासमा तीन हजार हारेपछि उनी किनै तनाबमा परेका थिए। गोविन्द दसैंको अष्टमीको राति ११ बजे घर पुगेका थिए। आमाले राखिदिएको खाना खाएर राति घरमै सुतेका उनी कात्तिक ९ गते बिहान उज्यालो नहुँदै घरबाट भागेका आफन्तले बताएका छन्। घरबाट भागेर उनी सुर्खेत पुगेको खुलेको छ। टीकाको दिन सुर्खेतमा देखिएका उनी त्यसपछि बेपत्ता छन्।

साथीहरुको लहलहैमा लागेर जुवा (तास) मा तीन हजार रुपैयाँ हारेपछि उनले आफूबाट गल्ती भएको भन्दै आमासँग माफी मागेर पत्र लेखेका छन्।

उनले आफू सधैँको लागि घर छोडेर नगएको पनि बताएका छन्। ‘म सधैँको लागि गएको होइन, फर्किन्छु’ उनले पत्रमा लेखेका छन्, ‘ममी सरी। मैले चाहेर गरेको गल्ती होइन। तर कहिलेकाहीँ नचाहेको गल्ती पनि अचानक हुँदै रहेछ। तर, म सधैँको लागि गएको होइन। म एक दिन अवश्य फर्किन्छु। ममी म गयो भनेर नरुनु। म माफी माग्ने लायकको छ छैन। तर, पनि सक्नुहुन्छ भने मलाई माफ गरिदिनुहोला।’

अभिभावकले जिल्ला प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय दैलेखमा किशोरको हुलियासहित खोजी गरिदिन निवेदन दिएका छन्। खोजी सुरु गरेपनि पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

यस्तो छ गोविन्दले आमालाई लेखेको पत्रको बेहोरा:

0099

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad