भारतीय वायुसेवा स्पाइस जेट सामुद्रिक विमानमा परिणत हुने भएको छ। कोरोना संक्रमणको महामारीमा यात्रा वृद्धिका निम्ति स्पाइस जेट सामुद्रिक विमानमा परिणत हुन लागेको हो।
देशको ठूलो क्षेत्रीय विमान सेवाले १८ वटा समुद्री मार्गका निम्ति अनुमति पाएको छ।
त्यसमध्येको एउटा मार्ग गुजरातस्थित केवडियासम्मको छ जहाँ भारतका पहिलो गृहमन्त्री वल्लभ भाइ पटेलको सम्मानमा निर्मित विश्वकै अग्लो १८२ मिटरको सालिक छ।
महामारीका बेला स्पाइस जेटले कार्गो ढुवानी र साना जहाजबाट क्षेत्रीय उडान लगायतका आम्दानीका नयाँ स्रोतमा आफूलाई केन्द्रित गरेको छ।
विमान सेवा कम्पनीहरूले कोरोनाभाइरसको महामारीका बेला नाफा कायम राख्न सङ्घर्ष गरिरहेका छन्। कैयौँले अस्तित्व कामय राख्न सकेका छन्। कतिपयले व्यापक रूपमा रोजगारी कटौती गरेका छन्। केही विमान सेवाले आयस्रोतका वैकल्पिक बाटो खोजिरहेका छन्।
स्पाइस जेटका अध्यक्ष अजय सिंहले सामुद्रिक विमानले क्षेत्रीय सम्पर्क विस्तारमा सहयोग गर्ने बताए। ‘निकै महँगा विमानस्थल र धावनमार्गविना नै विमानहरू साना जलाशय र छोटा धावनमार्गमा अवतरण र उडान गर्न सक्छन्,’ उनले भने।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वल्लभ भाइ पटेलको १४५ औँ जन्म जयन्तीका अवसरमा शनिवार अहमदावाददेखि केवडियासम्मको उडानमा सहभागी हुने ठानिएको छ। ३० मिनेट लामो उडानमार्फत् स्पाइसको विमानले सेवा सुरु गर्नेछ, जसको एकतर्फको भाडा भारतीय रुपैयाँ १५ बाट सुरु हुनेछ।
स्पाइस जेटले आफ्ना तीन सय वटा ट्वीनअटर जहाजलाई सामुद्रिक विमानको रूपमा प्रयोग गर्ने जनाएको छ। ती जहाजमा यात्रु र चालक दलका सदस्यसहित १९ जना अटाउन सक्छन्।
फ्लाइट ग्लोबल म्यागेजिनका ग्रेग वाल्ड्रोन भन्छन्, ‘साना सेवा प्रदायकमाझ ट्वीनअटर निकै लोकप्रिय छ र मालदिभ्स लगायतमा सामुद्रिक विमानको रूपमा निकै प्रयोग भइरहेका छन्।’
उनका अनुसार सानो आकारले गर्दा ती जहाज ठूला विमान पुग्न अव्यावहारिक हुने ठाउँहरूमा पनि पुग्न सक्छन्। स्पाइस जेटले नागपुर, गुवाहाटी र मुम्बईमा सन् २०१७ मा भारतमा सामुद्रिक विमानको परीक्षण सुरु गरेको थियो।
उसले जलाशय र अन्तरदेशीय जलमार्गहरूमार्फत् हवाई सम्पर्कको सम्भावना खोजी गरिरहेको छ। भारतमा राष्ट्रव्यापी लकडाउनका बेला स्पाइस जेटले १० लाखभन्दा बढी भारतीयलाई स्वदेश फर्काउँदा सक्रिय रूपमा उडान गरेको थियो। बिबिसीबाट

प्रतिक्रिया