बिस्तारै देशभर जाडो बढ्दै छ। बिहान–बेलुका चिसो महसुस हुन थालिसकेको छ।
हुन त हरेक वर्ष जाडो याम आउने गरेकै हो। तर यसपटक जाडोसँग अर्काे भयंकर त्रास पनि जोडिएको छ। त्यो हो- जाडोमा कोरोना संक्रमण झन् बढ्छ भन्ने अनुमान।
उसो त यसअघि कोरोना भाइरसलाई तापक्रमले खासै फरक पार्दैन भन्ने विज्ञको भनाइ पनि सुनिएको थियो। किनकि जाडो वा गर्मी, सबै खालका मौसम भएका मुलुकमा यो फैलिरहेको छ।
तर पनि नेपालमा जाडो बढ्दै गर्दा कोरोना संक्रमण झन् तीव्र हुन्छ भन्ने अनुमान किन?
यस विषयमा देशकै प्रमुख कोभिड अस्पताल मानिने काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, ‘रिसर्च युनिट’ का संयोजक डा. शेरबहादुर पुनसँग नेपालखबरले जिज्ञासा राखेको छ। यस्तो छ, उनको भनाइ :
हुन त कोरोना भाइरसबारे अझै पनि हामी (नेपाललगायत विश्वकै विज्ञ) सँग सीमित ज्ञान छ। यसका थुप्रै पक्षबारे अनुसन्धान हुनै बाँकी छ।
नेपालको सन्दर्भमा कोरोना महामारी सुरु भएपछि हामीले एक वर्ष पूरा गरेका छैनौं। अर्थात् जाडो मौसममा कोरोना भाइरसको संक्रमणको गति कस्तो हुन्छ भन्ने अनुभव भइसकेको छैन। यसर्थ यो विषय हाम्रा लागि नौलो नै हो।
तर पनि विभिन्न देशका अनुसन्धान र अनुभवले यो भाइरस जाडोमा अलि लामो समय स्थिर रहने (बाँच्ने) देखाएका छन्। एउटा तर्क यो हो।
चीनको उहान, जसलाई कोरोना भाइरसको उद्गमस्थल मानिएको छ, त्यहाँ पनि जाडोकै बेला यसको संक्रमण तीव्र देखिएको थियो। जसले गर्दा यो भाइरस जाडो अर्थात् चिसोको बेला नै अलि बढी सक्रिय भएकाे हो कि भन्ने अनुमान गर्न सकिन्छ।
हुन त यो भाइरसको संक्रमण गर्मी महिनामा पनि बढिरहेकै छ। तर अर्काे कुरा के हो भने यो जाडो महिनामा पनि घट्ने देखिँदैन। यसको अर्थ यो अझ बढ्ने नै अनुमान गर्न सकिन्छ।
अहिलेसम्मको तथ्यांकले कोरोना संक्रमण जाडोमा अलि बढेकै देखाएका छन्। विभिन्न देशका वैज्ञानिकले पनि जाडोका बेला कोरोना संक्रमण बढ्ने अनुमान गर्दै आफ्ना नागरिकलाई बढी सतर्कता अपनाउन आग्रह गरिरहेका छन्।
यी विभिन्न कोणबाट हेर्दा हामीकहाँ पनि जाडो महिनामा कोरोना संक्रमण तीव्र नै हुने अनुमान गर्न सकिन्छ। यसकारण अझ बढी सतर्क हुन जरुरी छ।
कसरी बच्ने त?
यो कुरा कति भनौं! काठमाडौं उपत्यकामा चाहिँ पहिलेभन्दा अहिले मास्क लगाउने चलन अलि बढेको देखिन्छ। तीन/चार महिनाअघिको तुलनामा अहिले अलि बढी मानिसले मास्क लगाउन थालेको देखिन्छ। तर देशका अन्य ठाउँमा अझै मास्क लगाउने बानीको विकास भएको पाइँदैन।
कोरोना सर्नबाट बच्न सही तरिकाले मास्क लगाउने तथा व्यक्ति-व्यक्तिबीच दूरी कायम गर्ने कुरालाई विशेष ध्यान दिनुपर्छ।
तर म अहिले पनि काठमाडौंमा मानिस साथीभाइसँग हुलमुल गर्ने, रेस्टुरेन्ट जाने गरेको देख्छु। रेस्टुरेन्ट गए पनि अलि राम्रोसँग हावा ओहोदोहोर गर्ने भेन्टिलेसन भएको हुन जरुरी छ। धेरै भीड गरेर नबस्ने।
समग्रमा के बुझ्नुपर्याे भने अब पहिले अर्थात् कोरोनाकाल भन्दा अघिको जस्तो जीवनशैलीले हुँदैन। कोरोनाबाट बच्ने किसिमको जीवनशैली अपनाउन जरुरी छ।
त्यो भनेको सही किसिमले मास्क लगाउने, व्यक्ति व्यक्तिबीच कम्तीमा ६ फिट दूरी कायम गर्ने, सभा, गोष्ठी, सभा, सम्मेलन नाराबाजी नगर्ने। यस्ता क्रियाकलापले संक्रमण फैलाउने काम गर्छन्।
अहिलेसम्म कोरोनाविरुद्ध खोप बनिसकेको छैन। चलाइएको औषधिमा पनि यसैले निको हुन्छ भन्ने ग्यारेन्टी भइसकेको छैन, परीक्षणकै चरणमा छन्। त्यही भएर अहिलेलाई सतर्कता अपनाउनु नै यसबाट बच्ने प्रमुख उपाय हो।
Shares

प्रतिक्रिया