समाज


ट्याक्सी चलाएर गुजारा गर्छन् सिंगापुरका शाही सन्तति

ट्याक्सी चलाएर गुजारा गर्छन् सिंगापुरका शाही सन्तति

नेपालखबर
कात्तिक १३, २०७७ बिहिबार १३:७,

जब राजकुमार शावल ‘म सुल्तान हुसेन शाहको वंशज हुँ’ भनेर सुनाउँछन्, तब धेरैको प्रतिक्रिया हुन्छ, ‘शाही परिवारका सदस्य अझै छन् र?’

१९औँ शताब्दीमा सिंगापुरका राजा सुल्तान हुसेन शाहले बेलायतसँग सन्धि गरेका थिए। जसका कारण सिंगापुर बेलायतको उपनिवेश बन्न पुग्यो।

तर, सो राजपरिवारका सन्ततिबारे आजको आधुनिक सिंगापुरका निकै कम बासिन्दालाई मात्र चासो छ। शाही परिवारका वंशज अहिले अति सामान्य जीवन बिताइरहेका छन्। ट्याक्सी चालाउने, अफिसमा सामान्य काम गर्नेहरु आफूलाई शाही खलकको सन्तान भएको दाबी गर्छन्।

तेंग्कु अर्थात् राजकुमार पदवी धारण गरेका थुप्रै सिंगापुरबासीमध्ये एक हुन् शावल। दुई दशक अगाडिसम्म उनीहरुमध्ये केही पुरानो पैत्रिक दरबारमा बस्ने गर्थे। सन् १९९९ मा सरकारले सो दरबारलाई संग्राहालय घोषणा गरेर उनीहरुलाई बाहिर निकाल्यो।

tengku_shawal_43468.JPGतेंग्कु शावल

त्यसबेला आफूलाई शाही परिवारको सन्तान दाबी गर्ने ७९ जना थिए। जसमध्ये १४ जना दरबारमा बसिरहेका थिए। उनीहरुलाई सरकारले भत्ता दिने घोषणा गर्‍यो। उपनिवेशकालमै सुल्तानको परिवारलाई सरकारले जीविकाका लागि खर्च दिने सहमति भएको थियो।

तर, यसरी सरकारबाट पैसा लिनेहरुको नाम सार्वजनिक गरिएन। त्यसैले को शाही परिवारको वंशज हो र को होइन भन्ने छुट्याउन गाह्रो भयो।

सन् १९६५ मा सिंगापुर स्वतन्त्र भएपछि लगातार शासन गरिरहेको सरकारले तीमध्ये एक जनाबाहेक सबैलाई भुक्तानी दिइएको बतायो। तर, उनीहरुबारे थप जानकारी दिन मानेन।

शावलले भने आफूले सरकारी भत्ता लिएको निस्सा देखाए। उनी अझै पनि संग्राहालय बनिसकेको काम्पोङ ग्लाम नजिकैको दरबार र मस्जिद बारम्बार घुम्न जाने गर्छन्।

कोरोना भाइरस महामारीका कारण शावलको आम्दानी अहिले घटेको छ। रोजगारी जोखिममा छ। तैपनि उनी सुल्तानको विरासत जीवित राख्न परम्परागत शाही पहिरनमा सजिने र विभिन्न समारोहहरुमा उपस्थित हुने गर्छन्।

तर, चर्चा कमाउन निकै चुनौतिपूर्ण छ। किनभने आफूलाई शाही सन्तति भन्नेहरु नै विभाजित छन्। उनीहरुमध्ये कतिपयले अतीतमा बाँच्नु खतरनाक हुने तर्क गर्दै आएका छन्। दैनिक जीवनका कठिनाइ झेल्दैमा धेरैजसोले यसबारे सोच्ने फुर्सद नै पाउँदैनन्।

tengku_indra_780.JPGतेंग्कु इन्द्र

‘अहिले हामी राजाका सन्तान होइनौँ। हामी शाही परिवारका सन्तति हौँ कि होइनौँ भन्ने अहिले महत्वपूर्ण विषय होइन,’ ६७ वर्षीय तेंग्कु इन्द्र भन्छन्।

उनले आफ्नो बालापन सोही दरबारमा बिताएका थिए। अहिले उनी एक परामर्शदाताका रुपमा कार्यरत् छन्।

‘सबैभन्दा महत्वपूर्ण कुरा के हो भने तपाईंले जिउने जीवन योग्यताको आधारमा निर्माण गर्नुपर्छ पैत्रिक हैसियतका आधारमा होइन,’ उनी थप्छन्।

इन्द्रलाई गत वर्ष एक सरकारी समितिले सुल्तान हुसेनको जनाति भनेको थियो। इन्द्रका ४० वर्षीय छोरा तेंग्कु अजान व्यवसाय सञ्चालन गरेर बसेका छन्। अजानकी दुई वर्षकी छोरी पनि छन्।

आगामी पुस्तामा सुल्तानको इतिहासप्रतिको चासो कम हुँदै जाने इन्द्र बताउँछन्।

दरबारमा समय बिताएकाहरुका लागि बाहिरी संसारको जीवन निकै कष्टदायक थियो।

आफूले सन् १९९९ मा दरबार छाडेपछि एउटा अपार्टमेन्टमा सरसफाइ मजदुरका रुपमा काम गरेको तेंग्कु फैजल बताउँछन्।

tengku_puteri_468.JPGतेंग्कु पुटेरी

‘फोहोर संकलन गर्ने राजकुमार भनेर मलाई जिस्क्याइन्थ्यो,’ उनले भने।

४३ वर्षीय फैजल अहिले ट्याक्सी चलाउँछन्। उनलाई अहिले हातमुख जोर्नै धौधौ छ। त्यसैले उनले छोरीको बाल हेरचाहको शुल्क तिर्न सरकारसँग आर्थिक सहायता लिँदै आएका छन्। उनकी पत्नी म्याकडोनाल्डमा पार्टटाइम काम गर्छिन्।

‘हामीसँग बुद्धि छैन। हामीसँग सम्पत्ति पनि छैन,’ फैजलले भने, ‘हामीसँग नाम मात्रै छ।’

छिमेकी मलेसियामा चाहिँ अझै संवैधानिक राजतन्त्र कायम छ। त्यहाँ सुल्तानहरुले सार्वजनिक जीवनमा सक्रिय भूमिका खेल्छन्। त्यसैले त्यहाँ यस्तो सम्मानसूचक पदवी बढी प्रयोगमा छ।

रोयटर्सले अन्तर्वार्ता लिएका सात शाही सन्ततिमध्ये आफ्नो वंश परम्पराप्रति सबैभन्दा मोहित शावल मात्रै भेटिए। तर, यो शाही पदवीको ‘बोझ’ आगामी पुस्तामा हस्तान्तरण हुनेमा उनलाई पनि शंकै छ। त्यसैले आफ्नी छोरी जन्मिनेबित्तिकै शावलले उनलाई यो पदवी दिएनन्।

उनकी छोरी राजकुमारी पुटेरी अहिले २७ वर्षकी भइन् र एक बायोटेक कम्पनीमा काम गर्छिन्। उनले अहिले तेंग्कु पदवी धारण गरिसकेकी छन्। तर, आम मानिसले भुलिसकेको यो इतिहासबारे कसैलाई सम्झाउनु साह्रै कठिन काम भएको उनी बताउँछिन्।

‘म को हुँ भनेर व्याख्या गर्नुपर्दा अलिक नराम्राे लाग्छ,’ उनी भन्छिन्, ‘तर, उनीहरु बेलायती राजकुमार ह्यारीलाई भने देख्नेबित्तिकै राजकुमार भनेर चिन्छन्।’ रोयटर्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad