समाज


घरै बसेका कोरोना संक्रमितले दसैँमा के खाने, टीका कसरी लगाउने?

घरै बसेका कोरोना संक्रमितले दसैँमा के खाने, टीका कसरी लगाउने?

नेपालखबर
कात्तिक ७, २०७७ शुक्रबार ११:४६,

बिहीबारसम्म नेपालमा ४४ हजार ८७७ जना सक्रिय संक्रमित छन्। जसमध्ये ३१ हजार ५ जना संक्रमित घरमै आइसोलेसनमा बसेका छन्।

दसैँमा नेपाली परिवारमा माछामासु, चिल्लो पिरोको खानपान बढी हुन्छ। तर, खानपिनमा ध्यान नपुर्‍याए सामान्य लक्षण भएर घरमै बसेका संक्रमितमा पनि गम्भीर समस्या आउनसक्ने जनस्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन्।

‘खानाको तारतम्य मिलेन भने एसिडिटी हुने, बान्ता हुने, पखाला हुनेसमस्या आउन सक्छन्। संक्रमितलाई यी समस्या थपिँदा अवस्था गम्भीर बन्नसक्छ,’ जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले भने, ‘दसैँमा मासु बढी खाने प्रचलन हुन्छ। तर त्यसले स्वास्थ्यलाई फाइदा पुग्दैन। धेरै प्रकारका तर थोरै थोरै पच्नसक्ने गरी खानेकुरा खानुपर्छ।’

पाण्डेले सागसब्जी, गेडागुडी, दूध, दही, अण्डा, मौसमी फलफूल, तरकारीलाई पनि खानामा निरन्तरता दिनुपर्ने सुझाव दिए।

यसबाहेक ३–४ लिटर पानी पिउन तथा सम्भव भए फलफूलको जुस, सुप, मनतातो कागती पानी, हर्बल चिया, ब्ल्याक टी, हल्का कफीको सेवन गर्न सक्ने उनले सुझाव दिए। पानीले पोषक तत्वलाई रगतमा पुर्‍याउन, शरीरको तापक्रम सन्तुलनमा राख्न, शरीरका विषाक्त पदार्थलाई निष्कासन गने सहयोग पुर्‍याउने उनको भनाइ छ।

यस्तै चिल्लो रोटी, बासी खानाले पनि पनि स्वास्थ्यमा समस्या ल्याउने भएकाले सकभर त्यस्ता खानेकुरा नखान पाण्डेले सुझाव दिए। उनले दसैँमा पनि परिवारका सदस्यले संक्रमितको स्याहारसुसारमा ध्यान दिनुपर्ने तथा संक्रमितले दैनिक व्यायामलाई छोड्न नहुने बताए।

टीका कसरी लगाउने?
परिवारका सदस्यहरु मिलेर दसैँ टीका लगाउँदा संक्रमितको मन खल्लो हुन सक्ने भएकाले संक्रमितलाई छुट्टै प्लेटमा टीका र जमरा कोठाको बाहिर राखिदिने र संक्रमित स्वयमले टीका लगाउने गरी यसपटकको दसैँ मनाउनुपर्ने डा.पाण्डेले सुझाव दिए।

‘यसपटक सामान्य अवस्था छैन। कसैले पनि आफ्ना कारण परिवारका अन्यलाई संक्रमण सरोस् भन्न चाहँदैन,’ पाण्डेले भने, ‘निधार खाली रहन नदिन यसपटक मान्यजनले दिएको टीका जमरा आफैँ लगाउन सकिन्छ। कुनैपनि हालतमा परिवारको सम्पर्कमा आउनुहुँदैन।’

दसैँमा विदा भएपनि अस्पतालमा इमर्जेन्सी तथा कोभिड वार्डहरु खुला नै हुने भएकाले ज्वरो धेरै आए, सास फेर्न गाह्रो भए, छाती दुखे वा दबाब महसुस भए अस्पताल जानुपर्ने उनले सुझाव दिए।

सतर्कता आवश्यक
दसैँमा परिवारका सबै सदस्य एक ठाउँमा भेटघाट, जमघट, खानपिन गर्ने परम्परा रहेकाले संक्रमित रहेको घरमा विशेष सतर्कता आवश्यक हुने पाण्डे बताउँछन्।

संक्रमितले आफूले प्रयोग गर्ने थाल, गिलास, चम्चालगायतका भाँडाकुँडा, टावेल, बेड कभर, फोन, रिमोट, कम्युटर लगायत सामानहरु अरुले प्रयोग नगरुन् भनेर विशेष ध्यान दिनुपर्ने उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad