समाज


गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

नेपालखबर
कात्तिक ७, २०७७ शुक्रबार ५:५०,

गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ।

विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले शुक्रबार बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन्।

फूलपातीको डोली बा २ झ ३२२१ नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए।

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि आज साँझ हर्ष बढाइँका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ। कार्यालयका नायब सुब्बा चूडानिधि तिवारीले हुनमान ढोका दरबारमा फुलपाती लिएर गएको कार्यालय प्रमुख भुसालले जानकारी दिए।

‘गत वर्ष भक्तजनहरूको ठूलो भिडभाड लाग्ने गथ्र्योे’, उनले भने, ‘यो पटक त्यो हुन सकेन, सामान्यरूपमा विधि पुर्याएर फुलपाती पठाएका छौँ।’

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दशैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको छ। गोरखा दरबारको दसैँघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरुले बोकेर ल्याई त्यहाँबाट हनुमान ढोका दरबार पठाइएको हो।

कोरोना भाइरसको संक्रमणको जोखिमका कारण भक्तजनहरुको सहभागिता बिना नै यो पटक विधिपूर्वक दरबारस्थित दसैँघरबाट सतिपिपल चौतारासम्म ल्याएर गोरखाबाट फूलपातीको बिदाई गरिएको उनले बताए। सतिपिपलसम्म बोकेर ल्याइएको फुलपाती राखेर हनुमान ढोकामा फुलपाती पठाइएको हो। गोरखा दरबारको दसैँघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad