कोरोना संक्रमणबाट मृत्यु भएका तिलोत्तमाका एक पुरुषको बुधबार तिलोत्तमा नगरपालिकाले शव व्यवस्थापन गरेको छ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएकामा तिलोत्तमाले भने बुधबारदेखि आफैले शव व्यवस्थापन गर्न थालेको हो।
नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को मंगलबारको बैठकले कोरोना संक्रमणबाट नगरबासीको मृत्यु भए शव व्यवस्थापनको जिम्मा नगरपालिकाले लिने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार बुधबार मृत्यु भएका कोरोना संक्रमित पुरुषको शव नगरपालिकाकै खर्चमा व्यवस्थापन गरिएको स्वास्थ्य शाखा अधिकृत गणेश गौतमले जानकारी दिए।
तिलोत्तमा नगरपालिका वडा न ५ निवासी ४७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। लामो समयदेखि श्वासप्रश्वास, उच्च रक्तचापको समस्या रहेका उनी ७ दिनदेखि होम आइसोलेसनमै थिए।
स्वास्थ्यमा समस्या देखीएपछि उनलाइ बुधबार बिहान क्रिमशन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको तिलोत्तमाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए। मृत्यु भएपछि शंकरनगर सामुदायिक वन क्षेत्रमा नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले शव व्यवस्थापन गरेको अधिकृत गौतमले बताए। योसँगै तिलोत्तमामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ।
हालसम्म तिलोत्तमाका ७२६ जनालाई कोरोना संक्रमण भएकामा ३९३ जना निको भएका छन् भने ३२५ जना सक्रिय संक्रमित छन्। तिलोत्तमाले कन्ट्रयाक्ट ट्रेसिङमा परेका नगरबासीको पहिलो पटकको परीक्षण समेत निःशुल्क गर्ने निर्णय गरेको छ।
Shares

प्रतिक्रिया