वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी गाउँपालिका–४ घर भइ हाल काठमाडौँ महानगरपालिका–१४ बस्ने २६ वर्षीय विशाल बानिया, २९ वर्षीय रिजन खङी र कैलालीको धनगढी उपमहानगरपालिका–५ घर भइ हाल ललितपुर सातदोबाटो बस्ने २३ वर्षीया प्रिन्सि शाह रहेका छन्।
बानियाले मलेसिया पठाइदिने भन्दै एक जनाबाट एक लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।
यस्तै, रिजन खङीले मलेसिया पठाउने बहानामा एक जनाबाट २ लाख ८५ हजार र प्रिन्सी शाहले बेलारुस पठाइदिने बहानामा २० लाख रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ।
उनीहरूले लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरूले दिएको जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया