विभिन्न बाहानामा पत्रकारहरुलाई जागिरबाट निकाल्ने, समयमा तलब नदिने र बेतलबी विदामा राखेर दुःख दिएको भन्दै सूचना तथा प्रशारण विभाग अगाडि प्रदर्शन गरिएको छ।
नेपाल पत्रकार महासंघको नेतृत्वमा विभिन्न सञ्चारमाध्यमका पीडित पत्रकारहरुले लालटिन बालेर विभाग अगाडि प्रदर्शन गरेका हुन। पत्रकारको हक हितका लागि सरकारले समेत आफ्नो दायित्व निर्वाह नगरेको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बताए।
सरकारलाई दबाब दिन विभाग अगाडि लालटिन बाँधेर प्रदर्शन गरिएको उनको भनाइ छ। लकडाउनपछि पत्रकारलाई जागिरबाट निकाल्ने, बेतलबी बिदामा राख्ने, अनेक किसिमका दुःख दिने क्रियाकलाप गरेको भन्दै महासंघले प्रदर्शन गरेको महासचिव विष्टले बताए।
सञ्चारमाध्यमहरुले समस्या समाधानका लागि तदारुकता नदेखाए थप दबाव सिर्जना गर्न अवरोध गर्ने सम्मका कार्यक्रम गर्न महासंघ बाध्य हुने उनले बताए।
कोरोनालाई बहाना देखाएर विभिन्न सञ्चारध्यमहरुले पत्रकारहरुलाई जागिरबाट निकाल्ने र बेतलबी बिदामा राखेका छन्। जागिरबाट निकालिएका पत्रकारहरु अहिले आन्दोलित छन्। पत्रकार महासंघले समेत उनीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ।

प्रतिक्रिया