महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा प्रहरी अधिकृत तथा जवान संयुक्त मेस भवन तथा हराएको, चोरी भएको वा फेला परेको सवारी साधनको अभिलेख व्यवस्थापनको लागि लस्ट एण्ड फाउन्ड भेहिकल रेकर्ड सिस्टमको उद्घाटन भएको छ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले एक कार्यक्रमकाबीच सफ्टवेयरको सुरुवात गरेका हुन्।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले विशेष परिस्थितीमा पनि उच्च जोखिममा रहेर अहोरात्र सडकमा खटिरहेका ट्राफिक प्रहरीको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि यसरी नै आफ्नो जिम्मेवारीलाई वहन गर्न आग्रह गरे। उनले ट्राफिक प्रहरी नेपाल सरकारको आईकन भएकोले आफ्नो कमिकमजोरी र गलत व्यवहारहरू परिवर्तन गरी कसैको अगाडि शिर नझुकाई निष्पक्ष भई काम गरेर असल राष्ट्रसेवक बन्न निर्देशन समेत दिएका छन्।
सुधारिएको मेस भवनबाट गुणस्तरीय खाना उपलब्ध हुँदा २४ सै घण्टा खटिने ट्राफिक प्रहरीको मनोवल थप उच्च हुने र जनतालाई दिने सेवा प्रवाहमा अझ बढी स्तरीयता र प्रभावकारीता हुने उनले विश्वास व्यक्त गरे।
सोही कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले धन्यवाद ज्ञापन गर्दै तालुक कार्यालयबाट भएका नीति निर्देशनलाई अक्षरशः पालना गर्दै काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप चुस्त दुरुस्त बनाउन दत्तचित्त भएर लाग्ने प्रतिबद्दता गरे।
उक्त भवन १३ लाख ५१ हजार ८०९ रुपैयाँमा सम्पन्न भएको हो।
हराएको सवारी साधनको निवेदन र सिफारिस पनि अनलाइनबाटै दिने व्यवस्था
ट्राफिक महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउँदै सेवाग्राहीलाई थप सहज र सरल बनाउन तथा कोभिड १९ माहामारीको विषम परिस्थितलाई समेत मध्येनजर गर्दै प्रहरी प्रधान कार्यालयको सहयोगमा हराएको वा चोरी भएको सवारी साधनको विवेदन अनलाइनबाटै दिने व्यवस्थाको शुरुवात आजैबाट महाशाखाले गरेको छ।
महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले हराएको वा चोरी भएको वा फेला परेको सवारी साधनको अभिलेख व्यवस्थापनको लागि लस्ट एण्ड फाउन्ड भेहिकल रेकर्ड सिस्टमको सफ्टवेयर सञ्चालनमा ल्याएको बताए। अनलाइन सेवा सुरु भएसँगै निवेदन र सिफारिसको लागि ट्राफिक कार्यालय धाउनुपर्ने दिनको अन्त्य भएको र सेवाग्राहीले घरैबाट निवेदन दिन सकिने र सवारी साधन फेला परेको जानकारी लिन सकिने बताए।
यसको लागि सवारी धनीले अब ट्राफिक प्रहरीको वेबसाइटमा गएर फर्म भर्नुपर्ने हुन्छ। वेबसाइट खोलेपछि दायाँतर्फ रहेको अनलाइन एप्लिकेसन भित्र रहेको लस्ट भेइकल एप्लिकेसनमा क्लिक गर्नुपर्ने जनाइएको छ।
Shares

प्रतिक्रिया