ad ad

समाज


अवैध सम्बन्धपछि काकीको हत्याः भतिजलाई जन्म कैद माग गर्दै मुद्दा दर्ता

अवैध सम्बन्धपछि काकीको हत्याः भतिजलाई जन्म कैद माग गर्दै मुद्दा दर्ता

उजिर कार्की
असोज १२, २०७७ सोमबार १२:३१,

ललितपुरको चुनीखेलकी गीता केसीको हत्या अभियोगमा पक्राउ परेका निर्मल केसीविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले सोमबार गीताका भतिजा निर्मललाई जन्मकैदको सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको हो।

अल्का अस्पताल २ मा हाउसकिपिङमा कार्यरत ३९ वर्षीया गीताको गत भदौ १७ गते ललितपुरको गोदावारी नगरपालिका १० स्थित मूलडोल जंगलमा हत्या भएको थियो। हत्या भएको दुई दिनपछि मात्रै गीताको शव फेला परेको थियो।

निर्मलविरुद्ध उनका श्रीमान् शिवशरण केसी र काका सानोकाजी बस्नेतले किटानी जाहेरी दिएका थिए।

स्थानीयले जंगल जाँदा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। घरबाट अल्का अस्पताल जाने भन्दै निर्मल र गीता उक्त जंगलमा गएका थिए। उनीहरुबीच चार वर्षदेखि शारीरिक सम्बन्ध रहेको खुलेको छ।

प्रहरीले गीताको शव भेटिएकै दिन निर्मललाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा उनले आफूले गीताको हत्या गरेको स्वीकार गरिसकेका छन्। पछिल्लो समय गीता अन्य व्यक्तिसँग नजिकिन थालेपछि यही विषयमा विवाद हुँदा आफूले हत्या गरेको निर्मलको बयान छ।

हत्या गर्नुपहिले गीता र निर्मलको बीचमा शारीरिक सम्पर्क समेत भएको थियो। त्यसलगत्तै उनीहरुको बीचमा विवाद सुरु भएको निर्मलले बताएका छन्।

गीताले नै लगाएको सलले घाँटीमा कसेर हत्या गरेपछि उनको शव भीरबाट तल खसाइदिएका थिए। श्वासप्रश्वास रोकिएको र टाउकोको चोटको कारण गीताको मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ।

घटनास्थल आसपास गीताको झोला, चप्पल, सल छरपस्ट अवस्थामा फेला परेका थिए।

शव फेला परेको भोलिपल्ट गीताका आफन्तले शवको सनाखत गरेका थिए। उनका काका र श्रीमानले त्यसअघि गीता हराएको भन्दै खोजीका लागि प्रहरी परिसर ललितपुरमा निवेदन दिएका थिए।

पक्राउ परेका निर्मलले नै गीताका सामान देखाएपछि मोबाइल लगायतका सबै सामान प्रहरीले फेला पारेको थियो।

भैंसेपाटीबाट गीता र निर्मल सँगै मोटरसाइकलमा गएको स्थानीयले समेत देखेका थिए। तर गीता हराएको भन्दै निर्मलले खोजेको नाटक समेत गरेका थिए। आफूले बिहान अल्का अस्पतालमा छाडेर फर्किएको भन्दै निर्मलले खोजेजस्तो गरेका थिए।

गीताले छोरीलाई अन्तिम फोनमा सोधेकी थिइन् ः भरे आउँदा के ल्याइदिनु?
भदौ १५ गते बिहान गीता बिरामी भएर घरमै बेहोस भएकी थिइन्। तर केही समय आराम गरेपछि उनलाई ठिक भयो। घरबाट उनी छोरीलाई मामाले पठाएको पैसा झिक्छु, आफ्नो स्वास्थ्य जँचाएर आउँछु, राम्रोसँग बस है भन्दै हिँडेकी थिइन्।

१ बजेर १५ मिनेटतिर घरबाट हिडेकी गीताले दुई बज्न १० मिनेट छँदा फोन गरिन्। छोरीलाई फोनमा सोधेकी थिइन्, ‘तिमीलाई के ल्याइदिऊँ छोरी?’ छोरीले मःमः ल्याइदिनुस् न भनिन्। त्यसपछि आमा छोरीको कुरा भएन।

बेलुकासम्म पनि गीता घर नफर्किएपछि छोरीले पटक पटक फोन गरिन्। दुई तीन पटक फोन त लाग्यो तर फोन उठेन। त्यसपछि फोन लाग्न छाड्यो।

गीता पनि घर फर्किनन्, मोबाइलमा पनि सम्पर्क हुन छाडेपछि उनका श्रीमान् र आफन्त प्रहरी कार्यालयमा गएर निवेदन दिएका थिए।

घटनामा पक्राउ परेका निर्मललाई गीताका श्रीमानले पहिले पनि झपारेर पठाएका थिए। एक वर्ष पहिले भदौ महिनामा निर्मल केसी गीताको घर गएका थिए। गीताका श्रीमानले घर जाउ भन्दा पनि मानेका थिएनन्।

आज यहीँ सुत्छु भनेपछि उनले निर्मललाई झपारेर घर पठाएका थिए। अल्का अस्पतालमा काम गर्दा उनलाई ल्याउने र लैजाने काम पनि निर्मलले नै गर्थे।

३ लाख ५० हजार ऋण
गीता आफूलाई दक्षिणकाली माता चढ्ने बताउँथिन्। त्यसैले बारम्बार पूजापाठ गराइरहन्थिन्। उनले यही क्रममा आएका राजु महतसँग ३ लाख ५० हजार रुपैयाँ ऋण लिएको पाइएको छ। गीताले छोरीलाई अस्टे«लिया पठाउनका लागि पैसा चाहियो, जग्गा बिक्री गरेर तिर्छु भनेकी थिइन्।

राजुले जग्गा किन्ने भनेर ३ लाख ५० हजार रुपैयाँ दिएको प्रहरी समक्ष बयान दिएका छन्। उनीहरुको बीचमा २०७६ असोज १२ गतेसम्ममा बैना वापत २० लाख रुपैयाँ पु¥याउने मौखिक सहमति भएको थियो। २० लाख रुपैयाँ पु¥याएपछि नै बैनाको कागज गर्ने सहमति भएको थियो।

तर, पछि उक्त जग्गा मुद्दा परेर रोक्का रहेको थाहा पाएपछि महतले नकिन्ने भन्दै रकम फिर्ता माग्न थालेका थिए। गीताले विभिन्न बहाना बनाउँदै टार्दै आएको महतको बयान छ।

अहिले अभियुक्तबाट उक्त क्षतिपूर्ति समेत भराउन माग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .