कैलालीकी पत्रकार निर्मला पहराईले आफ्ना प्रेमिको अर्कै प्रेमिका रहेको थाहा पाएपछि आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
कैलाली प्रहरीले सँगै काम गर्ने कैलाली एफएमकै पत्रकार २४ वर्षीय ललित जाग्रीलाई सोहि विषयमा अनुसन्धानका लागि पक्राउ गरेको छ।
निर्मला घरबाट ललितकोमा जान्छु भनेर हिडेको पाइएपछि ललितलाई प्रहरीले थप अनुसन्धानका लागि पक्राउ गरेको हो।
ललितकी अर्की पनि प्रेमिका रहेको तथा निर्मला र ती प्रेमीकाबीच ललित कसको ब्वाइफ्रेण्ड भन्ने विषयमा विवाद भएको पाइएको छ।
विवादपछि आफ्नो निर्मलासँग भेट नभएको ललितले प्रहरीलाई बताएका छन्। बुधबारदेखि बेपत्ता २३ वर्षीया निर्मलाको भने शुक्रबार दिउँसो वडा नं ५ स्थित फुलबारी सामुदायिक वनमा झुण्डिएको अवस्थामा शव फेला परेको छ।
रुखको फेदमा चप्पल र छाता तथा घडी भने केही पर फेला परेको अनुसन्धानमा संलग्न प्रहरीले नेपालखबरलाई जानकारी दिएका छन्।
याे पनि: कैलालीकी एक महिला पत्रकार जंगलमा मृत भेटिइन्
कैलालीको घोडाघोडी नगरपालिका ४ की निर्मला र ललित कैलाली एफएममा काम गर्थे। बुधबार बिहान १० बजेतिर घरबाट हिडेकी निर्मला बिहीबारसम्म पनि नआएपछि निर्मलाका दाजु बिशालले इलाका प्रहरी कार्यालय सुख्खडमा जानकारी गराएको कैलालीका प्रहरी प्रमुख एसपी अनुपम राणाले बताए।
दाइले जानकारी गराउनासाथ आफन्तकोमा सोधिखोजि गर्दा कतै पनि नभएको थाहा भएपछि जंगलमा खोजिएको थियो।
विशाल लगायतका आफन्तले जंगलमा झुण्डिएको अवस्थामा फेला पारेको घोडाघोडी नगरपालिका ४ का टेकबहादुर बुढाले बताए।
उनको शव पोष्टमार्टमका लागि धनगडी पठाइएको छ।
निर्मलाको मोवाइल भने फेला परेको छैन। पक्राउ परेका युवकले आफ्नो फोन र म्यासेन्जरमा मात्रै कुरा हुने गरेको बताएको अनुसन्धानमा संलग्न प्रहरीले बताएका छन्।
एसपी राणाले भने घटनाको अनुसन्धान सुरु भएको र अनुसन्धान गर्दैजाँदा थप खुल्ने बताए।

प्रतिक्रिया