कोरोनाको जोखिम बढ्दो छ। राजधानी लगायत देशका अधिकांश भागमा संक्रमितको संख्या थपिँदैछ। तर, परिस्थिति ठिक उल्टो छ, भीडभाड र चहलपहल बढ्न थालेको छ।
यसअघि एक जना संक्रमित नभेटिएका क्षेत्रमा पनि लकडाउन गरिएको थियो। तर अहिले दैनिक ५ सय बढी संक्रमित थपिइरहेको काठमाडौंसहित देशका सबै सहरमा चहलपहल बढ्दो छ।
निषेधाज्ञा खोलिएको छ। भएको ठाउँमा पनि खुकुलो बनाइएको छ। बिहीबारदेखि लामो दुरीका सार्वजनिक यातायात पनि सञ्चालनमा आएका छन्। आन्तरिक उडान सुरु गर्ने तयारी पनि भइरहेको छ।
राजधानीमा पनि सार्वजनिक यातायात सञ्चालन भएका छन् भने बजार र कार्यालय पनि खुलेका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले झण्डै डेढ महिना बन्द गरेको आफ्नो सेवा पनि आइतबारदेखि सञ्चालन गर्ने तयारी गरेको छ। यसका लागि केही मापदण्ड तय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।
‘जोखिम कम भएर होइन, १० गुणा बढी जोखिम भए पनि अब सेवा सुरु गर्नुको विकल्प रहेन। नभए अरु समस्या देखिन थाले,’ दाहालले भने।
सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपनि नागरिकलाई भोकमरीबाट जोगाउने विकल्पमा केही पनि गरेन। लकडाउन गरेर घरभित्रै बस्नुस् मात्रै भनिरह्यो।
समस्या परे सरकारले के गर्छ? कहाँ जाने? यी विषयमा सरकार मौन रह्यो। राजधानीमै खान नपाउने मानिसहरुको संख्या बढ्न थाल्यो।
भोकमरीबाट बचाउन सरकारभन्दा व्यक्ति अगाडि आउन थाले। सरकारसँग लाज ढाक्न सक्ने अवस्थै रहेन। जसका कारण निषेधाज्ञा सहज बनाउनुको विकल्प सरकारले देखेन।
‘हामीले ६ महिना बन्दाबन्दी गरेर नागरिकलाई कोरोनाबाट कसरी बच्ने भन्ने सिकायौं। मास्क लगाउनुस्, स्यानिटाइजर प्रयोग गर्नुस्, सामाजिक दुरी कायम गर्नुस् कति भन्ने, अब त आफैं गर्नुपर्यो नि!’ प्रजिअ दाहालले भने।
हुन त यसअघि पनि सरकारले हेलचेक्र्याइँ गरेकै हो। चैतदेखि निरन्तर १ सय २० दिन लकडाउन गरेर बिनाकारण छोटो समयका लागि खुला गर्यो। तर त्यसले व्यवसायी र आम नागरिकलाई सहज बनाउने भन्दा पनि सास्ती मात्रै थप्यो।
फेरि एक्कासि भदौ ३ गते उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरे। भर्खरै खुल्न थालेका व्यवसाय बन्द गरियो। बन्दकै बीचमा पनि संक्रमणको दर दैनिक ५ सयजति थपिँदै गयो। अन्ततः सरकारले आँखा चिम्लेर निषेधाज्ञा खोल्यो।
‘हिजोभन्दा १० गुणा बढी सतर्क हुनु पर्ने अवस्था आयो। सरकारले सिकाइसकेको छ। अब नागरिकले त्यो कुरा व्यवहारमा उतार्नुपर्छ। आर्थिक अवस्था डामाडोल हुने अवस्था आइसक्यो। व्यवसाय चलायमान गराउनै पर्ने भयो,’ प्रजिअ दाहाल भन्छन्, ‘किन खोलियो भन्ने प्रश्न होइन अब आफ्नो सुरक्षा कसरी गर्ने भन्नेतिर मात्रै सोच्नुस्।’
सरकारले खुला गरेको क्षेत्रमा पनि स्वास्थ्य मापदण्ड पालना गर्न भनेको छ। भीडभाडजन्य गतिविधिमा रोक लगाएको छ। तर केही दिनदेखि राजधानीमा नाराजुलुस पनि चलिरहेकै छ।
उपत्यका प्रहरी प्रमुख महानगरीय प्रहरी कार्यालयका डीआईजी विश्वराज पोख्रेल भन्छन्, ‘अब जोखिम कस्तो हुने भन्ने नागरिककै व्यवहारमा भर पर्छ। हामी सबैले आफ्नो कर्तव्य सम्झेर सतर्क भयौं, सुरक्षाका उपाय अपनायौं भने विस्तारै कम हुँदै जान्छ। प्रहरीको डरले मात्रै नियम पालना गर्न थाल्यौं भने अवस्था बिग्रिन्छ।’
सार्वजनिक सवारी साधन सञ्चालन भएपनि सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्न भनिएको छ। गाडीभित्र पनि सुरक्षाका उपाय अपनाउन भनिएको छ। सरकारले जारी गरेका निर्देशन पालना भए नभएको प्रहरीले अनुगमन गर्ने डीआईजी पोख्रेलले बताए।
‘प्रहरीलाई देख्दा मात्रै नियम पालना गर्ने र प्रहरी नहुँदा जे गरे पनि हुन्छ भन्ने बुझ्यौं भने त्यसले समस्या बढाउँछ,’ डीआईजी पोख्रेल भन्छन्, ‘यो मेरो लागि हो, परिवारको लागि हो, समाजको लागि हो र देशकै लागि हो भन्ने बुझिदिनुभयो भने हाम्रो काममा पनि सहयोग पुग्छ, उहाँहरु पनि सुरक्षित हुनुहुन्छ।’
यो पनि:
उपत्यकामा आजदेखि यी ५ कुराबाहेक सबै गतिविधि खुला, ‘तर हिजोभन्दा १० गुना बढी सतर्क हुनुस्

प्रतिक्रिया