समाज


नारायणगढ-मुग्लिन सडक खण्डमा एकै दिन ४८ वटा पहिरो

नारायणगढ-मुग्लिन सडक खण्डमा एकै दिन ४८ वटा पहिरो

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार १५:४३,

नारायणगढ–मुग्लिन सडक खण्डमा पाँच वर्षयताकै धेरै ठाउँमा पहिरो खसेको छ। सडक खण्डको जुगेडीदेखि मुग्लिनसम्म विभिन्न ठाउँमा सोमबार राति सानाठूला गरी ४८ पहिरो खसेका हुन्।

डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर शिव खनालका अनुसार २०७२ साल यता यति धेरै पहिरो एकै पटक खसेको थिएन। खसेका पहिरोमध्ये ७० प्रतिशतभन्दा बढी नयाँ ठाउँमा खसेका छन्। सो सडकको जुगेडीदेखि दासढुङ्गासम्म अहिलेसम्म पहिरो नखसेका ठाउँमा पनि यस पटक पहिरो खसेको थियो।

विगत एक सातादेखि निरन्तर परेको वर्षापछि सोमबार बेलुका परेको अविरल वर्षाले पहिरो खसेको खनालको भनाइ थियो। पानीले गलेको जमिन ठूलो वर्षासँगै लेदोसहितको पहिरो खसेको थियो। सो सडकबाट माथितर्फ पहाडी गाउँतर्फ जाने साना साना सडक अवैज्ञानिक तरिकाले निर्माण गर्दा पनि पहिरोको जोखिम बढेको खनालले बताए। सडक सफा गर्न आज बिहानदेखि ११ वटा जेसिबी र ५ वटा लोडर प्रयोग गरिएको थियो। सफा गरेर दिउँसो २ः४५ बजे सडक एकतर्फी सञ्चालनमा ल्याईएको छ।

सडक खण्डको चारकिलो, घुमाउने, भालुढुङ्गा, सत्र किलो र पाँचकिलोमा ठूलो पहिरो खसेका थिए। अन्य ठाउँमा साना पहिरो खसेका थिए। घुमाउनेमा पहिले खसेको ठाउँमा थप पहिरो खसेको हो। चार किलोमा नयाँ ठाउँमा ठूलो पहिरो खसेको छ। पाँच किलोमा लेदोले सडक भरिएर घरमा समेत क्षति पुगेको थियो। सडकमै रहेका गाडीको टायरसम्म लेदो भरिएको थियो।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीले धेरै ठाउँमा पहिरो खसेको भएपनि सडकका कर्मचारी र प्रहरीको सहयोगमा छोटो समयमा सडक सफा गर्न सकिएको बताए। एकाएक पहिरो खसेपछि रातीदेखि नै सडक अवरुद्ध बनेको थियो। सो सडक दुई वर्ष अघि विस्तार सम्पन्न भएको हो।

यो सडक राजधानी काठमाडौं, पोखरा लगायतका मुख्य शहरलाई तराईसँग जोड्ने मुख्य मार्ग हो। यहाँ दैनिक १० हजार हाराहारी सवारीसाधन गुड्ने गर्दछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad