समाज


‘यी पाँचवटा प्रदेशमा बाढीपहिरोको जोखिम, २४ घण्टासम्म सतर्कता अपनाऔं’

‘यी पाँचवटा प्रदेशमा बाढीपहिरोको जोखिम, २४ घण्टासम्म सतर्कता अपनाऔं’

नेपालखबर
भदौ २७, २०७७ शनिबार १:४९,

प्रदेश १ देखि ५ सम्मका विभिन्न स्थानमा ठूलो वर्षा तथा बाढीपहिरोको सम्भावना देखिएको भन्दै मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ।

शनिबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ–

‘प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

महाशाखाका अनुसार आज (शनिबार) दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

यसैगरी राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले शनिबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

महाशाखका मौसमविद् वरुण पौडेलका अनुसार हाल मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तर अर्थात् नेपालभन्दा केही दक्षिण छ। साथै भारतको पश्चिम बंगालनजिक न्यून चापीय क्षेत्र पनि बनेको छ। यिनै मौसमी प्रणालीका प्रभावले नेपालमा मौसम बदली तथा वर्षा भइरहेको हो।

उनका अनुसार सोमबारसम्मै देशका केही स्थानमा हल्कादेखि मध्यम र कतिपय ठाउँमा भारी वर्षासमेत हुने सम्भावना छ।

‘आगामी तीन दिन खासगरी प्रदेश १ देखि ५ सम्मका पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना बढी छ,’ शनिबार बिहान नेपालखबरसँग मौसमविद् पौडेलले भने, ‘यो तीन दिन कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने वर्षाको खासै सम्भावना देखिएको छैन।’

उनका अनुसार अहिले बिहान पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

‘आज दिउँसोलाई काठमाडौं उपत्यकामा मौसम शीतल भए पनि पानी पर्ने सम्भावना देखिएको छैन,’ उनले भने, ‘साँझपख भने वर्षा हुन सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad