नेपाल गुणस्तर तथा नापतौल विभागले ताेकिएकाे गुणस्तरअनुरुप उत्पादन नगर्ने दुई उद्योगलाई कारवाही गरेको छ।
विभागले विभिन्न उद्योगमा गरेको बजार अनुगमनका क्रममा जगदम्बा स्टील्स प्रालि बारा र मङ्गला सिमेन्ट उद्योग प्रालि धादिङलाई कारवाही गरेको हो। नेपाल गुणस्तरअनुरुप उत्पादन नगरेकाले ती उद्योगलाई कारवाही गरिएको विभागले जनाएको छ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभिन्न उद्योगबाट उत्पादित वस्तुको गुणस्तर नापतौल विभागको प्रयोगशालामा परीक्षण गराउँदा ती उद्योगले नेपाल गुणस्तरअनुरुप उत्पादन नगरेकाले कारवाही गरिएको जानकारी दिए।
विभागले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली २०४० को नियम (१६) अनुसारको कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको हो।
जगदम्बा स्टील्सको सङ्कलित नमूनामा कार्बनको मान ०.३५ प्रतिशत हुनुपर्नेमा ०.३० प्रतिशत र सल्फरको मान ०.६० प्रतिशत हुनुपर्नेमा ०.५५ प्रतिशत पाइएको छ।
जगदम्बा स्टील्सले भने आफ्नो कम्पनीमा उत्पादित १६ एमएमको केही डण्डीमा मात्र कैफियत देखिएको बताउँदै उक्त डण्डीलाई बजारबाट कम्पनीले फिर्ता गरिसकेको जनाएको छ।
मङ्गला सिमेन्टको सङ्कलित नमूनाको १४ एमपिए र १९ एमपिए हुनुपर्नेमा सोभन्दा धेरै भएकाले कारवाही गरिएको विभागले जनाएको छ। विभागले जगदम्बा स्टील्सको बिक्रीवितरणमा रोक लगाएको छ भने मङ्गला सिमेन्टलाई १५ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ। रासस
Shares

प्रतिक्रिया