ad ad

समाज


खाली हुनथाले काठमाडाैंमा घरका काेठा र फ्ल्याट (भिडियो)

खाली हुनथाले काठमाडाैंमा घरका काेठा र फ्ल्याट (भिडियो)

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार १०:२८,

केही महिनासम्म कोठा पाउन मुस्किल पर्ने काठमाडौंमा अहिले भने कोठा भाडामा लगाउन मुस्किल देखिएको छ।

कोठा गरी बस्न होस वा व्यापार व्यवसाय गर्न सटर पाउनै मुस्किल हुने यहाँ अहिले ‘टु लेट’, ‘कोठा, फ्ल्याट खाली छ’ भन्ने सूचनाहरु जताततै देख्न पाइन्छ।

कोरोना संक्रमणका कारण ४ महिना लामो लक डाउन र त्यसपछिको निषेधाज्ञाले उपत्यकामा घरहरु खाली भएका हुन्। कोरोनाले व्यापार व्यवसाय धरासायी बन्न थालेपछि सटरहरु खाली हुन थालेका छन् भने अध्ययनका लागि उपत्यका आएका विद्यार्थी एवं अन्य कामले यहाँ रहेका नागरिकहरु गाउँ फर्किएपछि अहिले कोठा र फ्ल्याटहरु खाली भएका हुन्।

यहीँ भएकाहरु पनि कम भाडा भएको घरमा सर्ने क्रम बढेको छ। यति मात्रै होइन काठमाडौंको बसाई टुंग्याएर गाउँ फर्किनेको संख्या पनि बढी छ। होटल, रेष्टुरेण्ट, होस्टलदेखि अधिकांश व्यबसाय गर्ने व्यबसायीले ब्यवसाय नै बन्द गरेर घर खालि गराएका छन्। कति कोठा खाली भए भन्ने आधिकारिक तथ्याङ्क नभएपनि अधिकांश घरमा कोठा खाली छन्।

काठमाडौं अनामनगरका एक घरधनी हरिप्रसाद पराजुली उपत्यका भरी नै एकनासको समस्या रहेको बताउँछन्। अनामनगर क्षेत्रमा मात्रै नभएर उपत्यका भरी नै सटर र फ्ल्याटहरु ठूलो संख्यामा खाली भएको उनको भनाई छ।

कोरोना नियन्त्रणमा आएपछि बाहिरबाट आउने क्रम सुरु नहुँदासम्म यहाँका घरधनीहरुले ठूलो समस्या भोग्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले लक डाउन र निषेधाज्ञाको विकल्प खोज्नुपर्ने बताए। स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कोरोनासँगै लड्दै अगाडि बढ्ने प्रयत्न गर्नुपर्ने उनले बताए।

अहिले काठमाडौंका जुनसुकै स्थानमा पुगे पनि घर खाली रहेको सूचनाहरु टाँसेको देख्न सकिन्छ। पछिल्ला वर्षहरुमा फ्ल्याट नै भाडामा दिने प्रचलनले भाडामा बस्नेहरु पीडित बनिरहेका थिए।

कहिले कोठा खोज्ने दलालको फन्दामा सर्वसाधारण पर्दै आएका थिए त कहिले घरबेटी नै अनावश्यक रुपमा भाडा असुल्दै आएका थिए। तर अहिले अवस्था फेरिएको छ। डेरावालहरुले छानीछानी सस्तोमा कोठा लिन पाउँछन्।

भाडामा बस्नेहरुको संख्या घट्दै घएपछि ऋण काढेर घर बनाएकाहरुलाई भने समस्या देखिएको छ। कोठाभाडा नै आम्दानीको स्रोत भएका घरधनीहरुलाई बैंकको किस्ता तिर्न र दैनिक गुजारा गर्न समेत समस्या देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .