समाज


मथे घाँस खुवाउँदा २१ बाख्रा मरे

मथे घाँस खुवाउँदा २१ बाख्रा मरे

नेपालखबर
साउन ७, २०७६ मंगलबार ३:१७,

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा एकै दिन अज्ञात रोगले २१ बाख्रा मरेका छन्।

घाँस खाएपछि सोमबार एकपछि अर्को गरी बाख्रा मर्न थालेपछि बाख्रपालक किसान चिन्तित भएका छन्।

कराउने, थरथरी काम्ने, मुखबाट ¥याल फालेर बाख्रा मर्ने गरेको स्थानीयवासीले बताएका छन्। स्थानीय बाख्रापालक प्रेम धानुकको मात्रै नौ बाख्रा मरेका छन्।

“भमरभोज टोल र पारिफाँटाका बाख्रापालकका बाख्रा मरेका छन्”, वडाध्यक्ष बहादुरसिंह महराले भने, “धेरै बाख्रा मरेको भन्ने खबर आएको छ, विवरण सङ्कलन भइरहेको छ, धमाधम बाख्रा मर्न थालेपछि स्थानीय बासिन्दालाई बाख्राको मासु नखान भनेका छौँ।”

मरेका बाख्रालाई खाल्डोमा राखेर पुर्न लगाइएको उनले बताए। एकपछि अर्को गर्दै बाख्रा मर्न थालेपछि निकै क्षति व्यहोर्नुपरेको बाख्रापालक धानुकले बताए।

मरेका बाख्राको नमूना सङ्कलन गरिएको छ। पशुरोग अन्वेषण प्रयोगशाला धनगढीका कार्यालय प्रमुख डा.विष्णु धिताललगायत तीन प्राविधिकको टोली र पशु अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका वरिष्ठ पशु चिकित्सक डा.पानसिंह ठगुन्नाको टोलीले घटनास्थल पुगेको छ।

मरेका दुई बाख्राको परीक्षण गरी नमूना सङ्कलन गरेको शुक्लाफाँटा नगरपालिका पशु स्वास्थ्य शाखाका प्रमुख पशु अधिकृत रामदत्त भट्टले जानकारी दिए।

मथे नामक घाँस खुवाइएपछि धमाधम बाख्रा मरेको किसानले बताएका छन्।

पशु विज्ञले सो घाँसमा एक प्रकारको विषाक्त रसाइन पाइने हुनाले नखुवाउन बाख्रापालकलाई सुझाव दिएका छन्।

परीक्षण गरिएका बाख्रामा एक प्रजातिको जुकासमेत पाइएकाले जुकाको औषधि र लिभरटनिक खुवाउन प्राविधिकले सल्लाह दिएका छन्।

“मरेका बाख्राबाट लिइएका नमूनाको प्रयोगशालामा परीक्षणपश्चात मात्रै बाख्रा मर्नुको कारण खुल्नेछ। यसका लागि एक दुई दिन लाग्न सक्छ”, अधिकृत भट्टले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad