ad ad

समाज


उपत्यकाको फोहोर व्यवस्थापनको समस्या फेरि बल्झियो

उपत्यकाको फोहोर व्यवस्थापनको समस्या फेरि बल्झियो

नेपालखबर
भदौ २०, २०७७ शनिबार ८:५९,

अल्पकालीन फोहोर व्यवस्थापन स्थल भरिएपछि काठमाडौँ महानगरपालिकालाई अहिले फोहर व्यवस्थापन गर्न निकै समस्या परेको छ।

विगत १३ वर्षदेखि नुवाकोटस्थित सिसडोलमा पूर्ण रुपमा फोहोर राख्दै आएको स्थान र सोही स्थान आसपासमा तयारी पारिएको अन्य दुई स्थान भ्याली वान र भ्याली टूमा पनि अहिले फोहोर व्यवस्थापन गर्न नमिल्ने गरी भरिएपछि लामो समयदेखिको समस्या फेरि बल्झिएको हो।

कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार हाल व्यवस्थापन गरिरहेकै स्थान वरपर केही समयका लागि स्थानको खोजी भइरहेको छ तर यस विषयमा स्थानीयवासीले भने असहमति जनाएका छन्। गत असारमा नै सक्ने गरी दीर्घकालीन रुपमा बञ्चरेडाँडामा ल्यान्डफिल साइड निर्माण भइरहेको भए पनि पूर्ण रुपमा काम नहुँदा कमपालाई पुनः समस्या दोहोरिएको हो।

कामपासँग अब पहिले नै फोहोर थुपारिएको स्थानमा माटोले पुरी तत्कालका लागि फोहर व्यवस्थापन गर्ने वा स्थानीयवासीलाई सहमति गराई अन्य स्थानको खोजी गर्ने विकल्प मात्र रहेको उनको भनाइ छ। ‘बर्सातको समयमा झन् धेरै फोहोर उत्पादन हुन्छ, उत्पादन बढी हुने हुँदा पनि र व्यवस्थापन गर्न असहज भएको छ’, श्रेष्ठले भने।

मन्त्रिपरिषद्को बैठकले नै उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न नुवाकोटस्थित बञ्चरेडाँडामा निर्माण गर्नुपर्ने करीब १५ मिटर अग्लो ड्याम र अन्य पूर्वाधार सहितको ल्यान्डफिल निर्माण गर्ने जिम्मा शहरी विकास मन्त्रालयलाई दिएको थियो। हाल काठमाडौँ उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार मेट्रिक टन र काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक ५०० मेट्रिक टन फोहोर निस्कने गरेको छ। काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ।

सिसडोलमा २०६२ सालमा दुई वर्षको फोहोर व्यवस्थापन गर्न सकिने क्षमताको ल्यान्डफिल निर्माण गरिएकामा चार पटकसम्म विस्तार गरेर अहिलेसम्मको फोहर व्यवस्थापन गरिँदै आएको छ। गत वर्षको स्थानीय तह निर्वाचनपछि स्थानीयवासीको समस्या स्थानीय तहले नै समाधान गर्नुपर्ने भए पनि यस समस्या समाधान हुन सकेको छैन। दीर्घकालीन केन्द्र सरकारले निर्माण गरे पनि अल्पकालीन फोहोर व्यवस्थापनका लागि भने कामपाको जिम्मा हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .