ad ad

समाज


जोखिम बढेपछि कारागारमा उच्च सतर्कता

जोखिम बढेपछि कारागारमा उच्च सतर्कता

नेपालखबर
भदौ १८, २०७७ बिहिबार १०:२७,

कोरोना सक्रमणको जोखिम बढेसँगै जिल्ला कारागार तनहुँमा उच्च सतर्कता अपनाइएको छ। दिनदिनै कारागारमा कैदीबन्दी थपिने क्रम बढेसँगै कारागार प्रशासनले उच्च सतर्कता अपनाएको हो।

विभिन्न मुद्दामा फरार रहेर पक्राउ परेका प्रतिवादीलाई जिल्ला कारागार तनहुँमा छुट्टै कोठाको व्यवस्था गरिएको छ। कोरोनाको जोखिम बढेपछि कारागार प्रशासनले त्यस्ता व्यक्तिलाई राख्नका लागि कारागारको नयाँ भवनमा दुई वटा कोठा तयार गरेको कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिए।

उनले पक्राउ परेका त्यस्ता व्यक्तिलाई अदालतमा पेश गरेपछि कारागार चलान गर्ने गरिएकाले जोखिम बढेको हुँदा छुट्टै कोठामा राख्न थालिएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय तनहुँले पछिल्लो समयमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान नै चलाएको छ। ‘पछिल्लो अवधिमा मात्रै ४०–४५ जना फरार प्रतिवादी कारागारमा आएका छन्’, कारागार प्रमुख अधिकारीले भने, ‘त्यस्ता व्यक्तिबाट कारागारमा कोरोना सङ्क्रमणको जोखिम बढ्ने खतरा भएपछि उनीहरुलाई कारागारका पुराना कैदीबन्दीसँग घुलमिल गराएका छैनौँ।’

अदालतबाट कारागार चलान भएका फरार प्रतिवादीको आरडीटी मात्रै गर्ने गरिएको छ। ‘एकैदिनमा पिसिआरको रिपोर्ट आउन सम्भव नभएकाले आरडिटीको रिपोर्टअनुसार उनीहरुलाई कारागारमा ल्याउने गरिएको छ’, उनले भने, ‘त्यस्ता व्यक्तिलाई १० दिनसम्म छुट्टै राखेर मात्रै अरु कैदीबन्दी भएको ठाउँमा व्यवस्थापन गर्छौं।’

कारागार प्रशासनले गत चैतदेखि नै कैदीबन्दी भेटघाट पूर्णरुपमा बन्द गरेको छ। बाहिरको व्यक्तिलाई पनि कैदीबन्दीसँग भेटघाट गर्न कडाइ गरिएको छ। सबै कैदीबन्दीलाई साबुनपानीले हात धुन, मास्क र स्यानीटाइजर प्रयोग गर्न सचेतना प्रदान गरिएको छ।

‘बाहिरबाट आउने सामानलाई पनि २४ घण्टा राखेर मात्रै दिने गरिएको छ’, उनले भने, ‘कोरोनाको जोखिम न्यूनीकरणका लागि सबै उपाय अपनाएका छौँ।’

कारागारमा हाल १९१ कैदीबन्दी छन्। त्यसमध्ये ६० जना थुनुवा र १३१ जना कैदी छन्। जिल्ला कारागारमा हालै मात्र नयाँ भवन निर्माण सम्पन्न भएको छ। नयाँ भवनको क्षमता ८० जनाको भए पनि ८३ जना कैदीबन्दी राखिएको छ भने ३५ जनाको क्षमता रहेको पुरानो भवनमा १०८ जना राखिएको छ। क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कारागारका कैदीबन्दीलाई विगतदेखि नै समस्या हुँदै आइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .